भोजपुर, १७ कात्तिक । शैक्षिक गुणस्तर सुधारको लागि शिक्षक अभिभावकालाई तालिम दिइएको छ । सामुदायिक विद्यालयको खस्किदो गुणस्तर सुधारको लागि भोजपुरको टेम्केमैयुङ गाउँपालिका नागीले शिक्षक र अभिभावलाई तालिम दिएको हो । यहाँका सवै विद्यालयका तीन सय बढी अभिभावक र शिक्षकहरुलाई शैक्षिक सुधारको लागि खेल्नु पर्ने भूमिकाको विषयमा प्रशिक्षण दिइएको हो । सवै पक्ष मिलेर शिक्षाको मुहान सुधार अभियान सञ्चालन गरेको वडाध्यक्ष हर्कराज राईले बताए । विगतका वर्षहरुबाट नै विभिन्न अभियान सञ्चालन गरेर सामुदायिक विद्यालयको गुस्तर सुधारमा स्थानीय सरकार जुटेको उनको भनाइ छ । ‘शिक्षाको सुधारको लागि जिल्लामा नै वडाबाट बजेट विनियोजन गरेर पहिलो पटक यो कार्यक्रम सञ्चालन गरेको हुँ’ वडाध्यक्ष राईले भने,‘हामीले सबै विद्यालयका अभिभावकलाई प्रशिक्षण दिएका छौँ । शिक्षाको गुणस्तर सुधारमा अभिभावक पनि जिम्मेवार हुन आवश्यक छ ।’
वडा भित्रका चण्डेश्वरी माध्यमिक विद्याललय, ज्ञानोदय प्राथमिक विद्यालय हुँगे, सारदा प्राथमिक विद्यालयका शिक्षक अभिभावनलाई आ–आफ्नो जिम्मेवारीको विषयमा जानकारी दिइएको हो । वडाले दुई लाख बजेट विनियोजन गरेर साकेला प्राविधिक एकेडेमी धरानको प्राविधिक सहयोगमा पाँच दिनसम्म तालिम सञ्चालन गरिएको हो ।
सामुदायिक विद्यालयको गुणस्तर सुधारको लागि चार पक्ष जिम्मेवार बन्नु पर्ने विद्यालय व्यावस्थापन समितिका अध्यक्ष पूर्णकुमार राईले बताए । शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी, शिक्षक, अभिभावक र सरकार जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ ।
‘शैक्षिक सुधारको लागि एक दुई पक्ष लागेर मात्र सम्भव छैन’ उनले भने,‘यसको लागि सवै आफ्नो ठाउँबाट जिम्मेवार बन्न आवश्यक छ । वडाले गरेको यो कामले शैक्षिक सुधारमा टेवा पुग्छ भन्ने हामी आशावादी छौँ ।’ अभिभावक विद्यार्थीहरुको पहिलो शिक्षक भएकाले उनीहरुले खेल्नु पर्ने जिम्मेवारीको विषयमा जानकारी दिइएको तालिमका प्रशिक्षक शालिक राईले बताए । अभिभावकले विद्यालयमा भईरहेको शैक्षिक गतिविधिको अवलोकनसँगै बाल मनोविज्ञान अनुसारको व्यवहार गर्न सके शैक्षिक सुधारमा सहयोग पुग्ने उनको भनाइ छ ।
शैक्षिक सुधारको लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दिप न्यौपानेले जानकारी दिए । गाउँपालिकाकाले शिक्षाको क्षेत्रमा दोश्रो प्राथमिकता बजेट विनियोजन गरेको उनको भनाइ छ । विभिन्न खाले शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरेसँगै विगतको वर्षको तुलनामा परिणाममासमेत सुधार आएको उनले बताए । ‘हामीले विभिन्न खालका शैक्षिक सुधारको कार्यक्रम सञ्चालन गर्दै आएका छौँ’ प्रशासकीय अधिकृत न्यौपानेले भने,‘कृषिपछि शिक्षामा धेरै बजेट विनियोजन गरेका छौँ । पछिल्लो समय गुणस्तरमासमेत केहि सुधार आएको अवस्था छ ।’