बाह्र वर्षपछि भोजपुरको निशान भगवती मन्दिरमा निशान पुनः स्थापना


भोजपुर, ४ कात्तिक । भोजपुरको प्रसिद्ध निशान भगवती मन्दिरमा बाह्र वर्षपछि निशान पुनः स्थापना गरिएको छ । नेपाली सेनाले यहाँको जीर्ण बनेको मन्दिरको पुनः निर्माण पश्चात निशान स्थापना गरेको हो । भोजपुरको इतिहास बोकेको निशान भवगती मन्दिरको गत वर्ष नेपाली सेनाले पुनः निर्माण गरेको थियो । पृथ्वी नारायण शाहले नेपाल एकिकरणको समयमा १८२६ मा स्थापना गरेको मन्दिर संरक्षणको अभावमा जीर्ण बनेको थियो । जीर्णद्धार पश्चात मन्दिरमा निशान पुनः स्थापना गरिएको हो ।

मन्दिरमा निशान पुनः स्थापना गर्दै नेपाली सेनाका पूर्वी पृतना हेडक्वाटरका पृतनापति उपरथी आश बहादुर तामाङले सेनाले पौराणिक र इतिहास बोकेका ठाउँहरुको संरक्षण गर्दै लैजाने नीति अनुसार मन्दिरको संरक्षणसँगै निशानको पुनः स्थापना गरिएको बताए । सेनाले धार्मिक, साँस्कृतिक तथा गढीहरुको संरक्षणको क्षेत्रमा काम गर्दै आएको उनको भनाइ छ ।

“सेनाले पौराणिक महत्व र इतिहास बोकेका स्थलहरुको संरक्षण गर्दै आएको छ’’उनले भने,“यो मन्दिरको संरक्षणसँगै निशानको पुनः स्थापना गरिएको छ । भावी दिनमा संरक्षण तथा विकासमा स्थानीयबासीसँगै स्थानीय सरकारले ध्यान दिन आवश्यक छ ।” इतिहास बोकेको मन्दिरको संरक्षणसँगै निशान पुनः स्थापना गरिएपछि स्थानीयबासी उत्साहित भएका छन् । मन्दिरको पुनः स्थापनाले भोजपुरको इतिहासलाई जोगाउन सहयोग पुग्ने स्थानीयबासी विनम श्रेष्ठले बताए ।

‘‘यो भोजपुरको इतिहास बोकेको मन्दिरको पुुनः निर्माणसँगै निशानको पुनः स्थापना गरिएको छ”उनले भने,“सेनाले जीर्णद्धार पश्चात निशान पनि राखेको छ । यसले यहाँको इतिहास संरक्षणमा टेवा पुग्ने छ ।”

गरुडदल गुल्म रहँदासम्म यहाँ भव्य रुपमा पुजाआजा हुने गरेपनि गुल्म स्थानान्तरण भएपछि पराम्परा लोप हुँदै आएको स्थानीयबासीको भनाइ छ । २०३९ सालमा यहाँबाट गुल्म स्थानान्तरण भएको थियो । गुल्म स्थानान्तरण भएसँगै आफ्नो निशान लगेपछि क्रमिक रुपमा यो चलन लोप हुँदै गएको स्थानीय जानकार जीवन श्रेष्ठले बताए । पुनः निशान भगवतीको स्थापनापछि इतिहासलाई जोगाउन सहयोग पुगेको उनको भनाइ छ ।

गरुडदल गुल्म २०२० साल चैतदेखी २०३९ साल फागुनसम्म भोजपुरमा तैनाथ रहेको थियो । यहाँबाट स्थानान्तरण भएपछि तीन पटकको प्रयासपछि मात्र निशान बाहिर लैजान सफल भएको मन्दिर संरक्षण समितिका अध्यक्ष डम्बर श्रेष्ठले बताए । २०६८ सालमा धेरै पटकको प्रयासपछि यहाँको निशान पाल्पा लगिएको थियो । दुई पटकसम्म निशान लिन आएको हेलिकप्टरको स्टार्ट बन्द भएपछि तेश्रो पटकको प्रयासमा मात्र स्थानान्तरण गरिएको उनको भनाइ छ ।

“तत्कालिन समयमा यहाँबाट निशान लैजान समस्या भएको थियो”उनले भने,“तीन पटकको प्रयासपछि मात्र निशान यहाँबाट अन्य ठाउँमा लैजान सेना सफल भएको थियो । स्थानीयबासीको माग अनुसार सेनाको पहलमा पुनः निशान फिर्ता ल्याउने काम सफल भएको छ ।”

भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले मन्दिरको निर्माण तथा निशान पुनः स्थापना गर्न नेपाली सेनाले खेलेको भूमिका उल्लेख्य रहेको बताउदै मन्दिरको आगामी दिनमा संरक्षण्को लागि पूर्ण स्वामित्व लिनसमेत नगरपालिका तयार रहेको बताए । यस्ता इतिहास बोकेका ठाउँहरुको संरक्षणमा ध्यान दिनु पर्ने उनको भनाइ छ । मन्दिर जिल्ला कारागारको परिसरमा रहेकोले यसलाई सहज रुपमा स्थानीयले पूजाआजा गर्ने वातावरण मिलाउनमा पहल गर्ने मेयर आलेको भनाइ छ ।

“सवैको साथ सहयोगमा स्थानीयको माग अनुसार मन्दिरसँगै निशान पुनः स्थापना गर्न सफल भएका छौँ” उनले भने,“ कारागार परिसरमा मन्दिर रहेकोले सुरक्षाका कारण स्थानीयलाई समस्या छ । यहाँ सर्वसाधरणले सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन नगरले पहल गर्नेछ ।”

मन्दिरमा निशान स्थापनाले खुसी थपेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताए । कारागार परिसरमा मन्दिर रहेकोले स्थानीयले विशेष दिनमा मात्र मन्दिर दर्शन गर्दै आएकाले कारागार भवन बनेपछि थप सहज हुने उनको भनाइ छ । स्थानीयलाई सहज रुपमा दर्शन गराउने वातावरण बनाउन सवैले पहल थाल्नु पर्ने उहाँले बताउनुभयो ।

गत वर्ष २१ लाख २६ हजार चार सय ५४ रुपैँया लागतमा मन्दिरको पुनः निर्माण सम्पन्न भएको हो । नेपाली सेनाबाट रु. १५ लाख, स्थानीय तहसँगै विभिन्न संघ संस्था तथा मन्दिर व्यवस्थापन समितिबाट रु. पाँच लाख ४५ हजार र बाँकी गणको आन्तरिक श्रोतबाट खर्च गरेर मन्दिरको निर्माण पश्चात निशान पुनः स्थापना गरिएको नयाँ श्रीनाथ गण भोजपुरका प्रमुख फणिन्द्र थापाले जानकारी दिए ।

मन्दिर पुन ः निर्माणको लागि भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउपालिका, पौवदुङमा गाउपालिका, वडा नं ४ का वडाध्यक्ष गिरेन्द्र खड्का, रमेश कार्की, ज्ञान बहादुर राई, जीवन श्रेष्ठ, बद्री श्रेष्ठ, स्व।पिता कुल बहादुर श्रेष्ठको स्मृतिमा लाल बहादुर श्रेष्ठ परिवार, कौशल श्रेष्ठ, डम्बर श्रेष्ठ, कर्ण मोक्तान सहयोग गरेका हुन् । त्यस्तै प्रेम सुवाल, ध्रुवलाल श्रेष्ठ, नीर कुमार विश्वकर्मा, रामचन्द्र श्रेष्ठ, भरतराज श्रेष्ठ, हिरालाल श्रेष्ठ, अशोक श्रेष्ठले सहयोग गरेका हुन् । मन्दिरको जीर्णद्धारको काम भने फष्ट रैफल गणको पालामा सम्पन्न भएको हो ।

निशान पुनः स्थापना कार्यक्रममा टेम्केमैयुङ गाउपालिका अध्यक्ष सरोज बस्नेत, अतिथि नं २ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी महेश कुमार थापा, गरुडदल गणका गणपति, विभिन्न सुरक्षा निकायका प्रमुखज्यूहरु, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, नागरिक समाज, बजारबासी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार