रामप्रसादराईको अभियान: वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु


भोजपुर, १९ असोज ।
भोजपुरको रामप्रसादराई गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरेर आर्थिक वर्ष २०८०/८१ को सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । गाउँपालिकाले विहिबारदेखी वडास्तरबाट सामाजिक सुरक्षा भत्ता वितरण थालेको हो ।
दुर्गम भेगका नागरिकको समस्यालाई ध्यानमा राख्दै वडा ४ दलगाउँबाट वितरण शुरु गरिएको गाउँपालिकाले जनाएको छ । सात दिनसम्म भुक्तानी शिविर सञ्चालन गरेर सवै वडामा सामाजिक सुरक्षा भत्ता वितरण गरिने जनाइएको छ ।

स्थानीयको सहजताको लागि दलगाउँमा घुम्ति शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै भोजपुरको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राई (निर्माण) ।

गाउँपालिकाले असोज १८ गते वडा नं ४ दलगाउँ, असोज १९ गते वडा नं ३ भुल्के, असोज २१ गते वडा नं १ ओख्रे, असोज २२ गते वडा नं धोद्लेखानी, असोज २३ गते वडा नं ८ खोक्सिक, असोज २४ गते वडा नं ७ बासीखोरा, र असोज २५ गते वडा नं ५ मानेभञ्याङमा शिविर मार्फत सेवा दिने भएको हो ।
सेवा लिनको लागि घण्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनु पर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट यो सेवा सूचारु गरिएको गाउँपालिका उध्यक्ष थामबहादुर राईले जानकारी दिए ।
‘‘घुम्ती शिविर मार्फत यो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता वितरण थालेका छौँ’’अध्यक्ष राईले भन्नुभयो,‘‘वर्षातले बाटो विग्रिएको कारण नागरिकलाई गाउँपालिका केन्द्रसम्म आउन समस्या छ । हामी नै वडा÷वडामा पुगेर सेवा प्रदान गरिरहेका छौँ । स्थानीय सरकारको कामले स्थानीयलाई सहजताहोस् भन्ने हाम्रो मुख्य लक्ष्य हो ।’’

एन आईसी एसिया बैंकको प्राविधिक सहयोगमा दलगाउँका एक सय ५४ जना लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो । घुम्ती शिविरमार्फत वडामा सेवा पाउँदा स्थानीय नागरिक पनि खुसी भएका छन् । सेवा लिन गाउँपालिकासम्म जानु पर्ने बाध्यताको अन्त्य भएको दलगाउँका स्थानीयबासीको भनाइ छ ।  कार्यक्रमको अवसरमा दलगाउँका तीन विपन्न परिवारलाई सय वाट क्षमताको सोलार वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार