आफ्नै शरीरमा ब्लेडले घाउ पार्ने व्यक्ति पक्राउ


धनगढी । आफ्नै शरीर ब्लेडले काटेको अभियोगमा कैलालीमा १ जना व्यक्ति पक्राउ परेका छन् । डोटीको जोरायल गाउँपालिका–३ घर भइ कैलालीको गोदावरी नगरपालिका बस्ने २५ वर्षी हेम प्रकाश मल्ल पक्राउ परका हुन् । प्रहरीका अनुसार मल्लले आफूमाथि धारिलो हतियारबाट आक्रमण भएको भन्दै स्थानीय प्रहरीमा उजुरी दिएका थिए । गोदावरी नगरपालिका–४ स्थित गोदावरी जंगलमा अपरिचित व्यक्तिले आफूमाथि आक्रमण गरेको मल्लको भनाइ थियो ।

प्रहरीका अनुसार श्रीमतीसँग अलग हुन भन्दै अपरिचित व्यक्तिले आफूमाथि आक्रमण गरेको प्रहरीलाई दिएको उजुरीमा उल्लेख गरेका थिए । तर, प्रहरी अनुसन्धानबाट मल्ल आफैंले आफ्नो जिउमा घाउ पारेको देखिएको हो । उनले आफ्नी श्रीमतीसँग अलग हुनका लागि अर्को व्यक्तिले आक्रमण गरेको देखाउन आफैंले आफ्नो शरीरमा घाउ पारेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले बताए । डिएसपी बस्नेतका अनुसार मल्लले दाह्री काट्ने ब्लेडको प्रयोग गरेर आफ्नो शरीरमा घाउ पारेको देखिएको छ । प्रहरीले मल्ललाई पक्राउ गरी सोधपुछ पछि परिवारको जिम्मा लगाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार