
सुनसरी, २४ चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले विद्धान विद्युषीको पवित्र तपोभूमि यस पूर्व क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक पक्षको विकासमा सम्बन्धित पक्षले ध्यान दिनुपर्ने बताएकी छन। सुनसरीको इटहरीमा नवनिर्मित कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको आइतबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन।
मन्दिरको उद्घाटनपछि राष्ट्रपतिले मन्दिरमा विशेष पूजा समेत गरिन। उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले विराट क्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताइन। यस्तै राष्ट्रपति भण्डारीले देशकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने सम्भावना बोकेको यो क्षेत्रमा सुविधायुक्त सार्वजनिक यातायात, पर्यटकीय सुविधाका अन्य पूर्वाधारहरूको विकासमा पनि ध्यान दिन उनले आग्रह पनि गरिन।
करिव ७ करोडको लागतमा देशमै आकर्षक श्रीकृष्ण मन्दिर निर्माण भएको छ। विभिन्न दाताबाट प्राप्त सहयोग तथा चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको वृहत्तर मुक्तिधाम विकास समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिए। मन्दिर उद्घाटन समारोहमा मुख्यमन्त्रि शेरधन राई, प्रदेश प्रमुख गोविन्द तुम्बाहांग, महिला बालबालिका मन्त्री थममाया थापा मगर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डित लगायतले बोलेका थिए।






















