सातमध्ये ६ मा सत्तारुढको उम्मेदवारी


विराटनगर, २१ चैत । प्रदेश– १ को संसदीय समितिको नेतृत्व चयनका लागि बिहीबार मनोनयन दर्ता भएको छ। सात वटा संसदीय समितिमध्ये ६ वटामा सत्तारुढ नेकपाले र लेखा समितिमा मुख्य विपक्षी कांग्रेसले एक–एक जना उम्मेद्वार बनाएर दर्ता गरेपछि सबै समितिको सभापति निर्विरोध चयन हुने भएको छ।

बिहीबार भएको मनोनयन अनुसार न्याय, प्रशासन तथा विधायन समितिको सभापति पदमा धनकुटाका नेकपाका सांसद ईन्द्रमणि पराजुलीको उम्मेद्वारी परेको छ। त्यस्तै सुशासन तथा योजना समितिको सभापति पदमा झापाका नेकपाकै सांसद् अर्जुन राई, अर्थ समितिमा ओखलढुंगाका मोहनकुमार खड्का, सामाजिक विकास समितिमा संखुवासभाकी सरिता थापा, उद्योग, पर्यटन तथा वातावरण समितिमा पाँचथरकी सीता थेवे र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिको सभापतिमा सुनसरीका सर्वध्वज साँवाको उम्मेद्वारी परेको छ।

उनीहरूमध्ये खड्का र थेवे पूर्वमाओवादीतर्फका र बाँकी पूर्व एमाले पक्षका हुन्। त्यस्तै, पूर्वएमालेतर्फका पनि सरिता थापाबाहेक सबै प्रधानमन्त्री केपी ओली गुटका सांसद हुन्। थापा माधव नेपाल समूहकी सांसद् हुन्।

सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेस मोरङका सांसद् शिवनारायण गनगाइँको उम्मेद्वारी परेको संसद् सचिवालयले जनाएको छ। शुक्रबारका लागि निर्वाचन मिति तोकिए पनि प्रत्येक समितिमा एक जनाको मात्रै उम्मेद्वारी परेका कारण सबै समितिको नेतृत्व निर्विरोध छानिने भएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार