
सुर्खेत २१ चैत। पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरिद गर्न थालेका छन् । मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीय तहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरिद गर्ने योजना ल्याएका हुन् ।
अवैध घरेलु मदिरा उत्पादन गर्नेले अब त्यस्ता सामग्री स्थानीय तहलाई बेच्नुपर्नेछ । सोबापत स्थानीय तहले नगद वा कृषि कर्मका लागि आवश्यक अनुदान उपलब्ध गराउनेछन् ।
घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणको साटो व्यावसायिक कृषिसम्बन्धी प्रस्ताव पेश गरेमा ती स्थानीय तहले मल, बीउ, सिँचाइ सुविधा र बजारको ग्यारेन्टी गर्ने निर्णय गरेका छन् ।