
भोजपुर, २९ बैशाख।
किराँत राईहरुको एतिहासिक पर्व साकेला उभौली भब्य रुपमा समापन भएको छ । १५ दिन अघिबाट शुरु भएको साकेला जिल्लाभर मनाएर समापन गरिएको हो ।
किरात राईहरुको बाहुल्यता रहेको भोजपुरमा उभौली र उद्यौलि विशेष रुपमा मनाउने गरिएको किरात राई यायोक्खाका केन्द्रीय सदस्य मात्रिका राईले बताइन् । स्थानिय टुडिखेलमा आयोजित उभौलि कार्यक्रममा चासुम शिलि,वापा शिली,नारावा शिलि प्रदशन गरिएको थियो । कार्यक्रममा किरात राई समुदायका वाहेक अन्य समुदायको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा शिलिहाङपा र शिलिहामङ्गमालाई फेटा गुठाई सम्मान गरिएको थियो । यसपटकबाट किरात राई यायोक्खाको पहलमा टुडिखेलमा किरात राईको परम्परागत परिकारहरु समेत राखिएको छ । किरात राईहरुको विशेष परिकार वाचिपा (तिते),चेकमोक(तामाको अचार),चाम्रे लगायत बंगुरको परिकार राखिएको आयोजकले जनाएको छ । उभौलीसंगै किरात राई समुदायको परिकारको विषयमा जानकारी दिन स्टल राखिएको थियो । किराँत राई समुदायले प्रकृतिको पुजा गर्दै मनाउने साकेला शिलीमा मानव जिवनका विभिन्न गतिविधिलाई शिली मार्फत प्रस्तुत गर्ने गरिन्छ ।
किरात राई यायोक्खा जिल्ला कार्य समिति भोजपुरको आयोजनामा स्थानिय टुडिखेलमा भब्य रुपमा सम्पन्न भएको अध्यक्ष सृजना राईले बताइन ।