मोदीले दिए जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली


काठमाडौं , २३ वैशाख,। श्रद्धाञ्जली दिवंगत व्यक्तिलाई दिइन्छ तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भने जिउँदा व्यक्तिलाई श्रद्धाञ्जली दिएका छन् ।

बिहारको मोतिहारीमा हालै भएको बस दुर्घटनामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै मोदीले ट्वीटरमार्फत् दुःख व्यक्त गर्दै दिवंगत व्यक्तिहरुलाई श्रद्धाञ्जली दिए ।

वास्तवमा सो दुर्घटनामा कसैको पनि मृत्यु भएको थिएन तर, २७ जनाको मृत्यु भएको भनेर हल्ला फैलियो । त्यो सूचना आएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले मात्रै होइन, बिहारका मुख्यमन्त्री नितिश कुमार, उपमुख्यमन्त्री सुशील कुमार मोदी र पूर्व उपमुख्यमन्त्री तेजस्वी यादवलेसमेत दुर्घटनामा मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली व्यक्त गरे ।

बिहारको मुजफ्फरपुरबाट दिल्ली जाँदै गरेको बस बिहीबार पूर्वी चम्पारण जिल्लाको कोटवा थाना क्षेत्र दुर्घटना भएको थियो । भारतीय एक मिडियामा २७ जनाको मृत्यु भएको खबर आएलगत्तै प्रधानमन्त्री मोदीदेखि सर्वसाधारणसम्मले दुःख व्यक्त गर्न सुरु गरेका थिए ।बिहारका मुख्यमन्त्री नितिश कुमारले एक सरकारी कार्यक्रममा सहभागी भइरहेको बेला दुर्घटनाको खबर पाएका थिए । लगत्तै उनले शोक व्यक्त गरे र एक मिनेट मौनधारण पनि गराएका थिए ।

त्यतिमात्रै होइन मुख्यमन्त्री कार्यालयबाट शोक विज्ञप्ति जारी गरियो जसमा लेखिएको छ, ‘बिहारको यस दुर्घटनामा जो व्यक्ति मारिएका छन्, उनीहरुका परिवारलाई नियमअनुसार आर्थिक सहायता उपलब्ध गराइने छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार