भोजपुर, १६ कात्तिक
प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भोजपुरमा सात ओटा मतदान केन्द्र थप भएको छ । यस अघि स्थानीय तहको निर्वाचनमा ८७ वटा स्थल र एक सय ४१ वटा मतदान केन्द्र कायम गरीएकोमा यो पटक ७ वटा थप भई १ सय ४८ मतदान केन्द्र भएको हो ।
थप भएका मतदान केन्द्रहरुमा अन्नपुर्ण गाविस भवन, षडानन्द नगरपालिका वडा नं ४, ५, ७ , साल्पासिल्छिो गाउँपालिका वडा नं १ र भोजपुर नगरपालिका ६ र ७ मा १/ १ वटा मतदान केन्द्र भप भएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।
स्थानीय तहको निर्वाचन पछि पुन श्रावण १ गते बाट भाद्र ३ गते सम्म फोटो सहितको मतदाता नामावलि सकलनमा ८ हजार भन्दा बढि मतदाता थप भएकोले मतदान केन्द्र थप गरीएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्र प्रसाद पोखरेलले जानकारी दिए ।
यस पटकको निर्वाचनमा एक लाख १३ हजार ८ सय ९१ जना मतदाता रहेका छन् । जसमा ५५ हजार ५ सय २९ महिला र ५८ हजार ३ सय ६२ जना पुरुष रहेका छन् । भोजपुरमा प्रतिनिधि सभाको लागि एक र प्रदेश सभाको लागि २ ओटा निर्वाचन क्षेत्र कायम गरिएको छ । भोजपुर (क) मा ५८ हजार चार सय ४९ र भोजपुर (ख)मा ५५ हजार ४ सय ४२ मतदाता छन् ।
जिल्लाको १ सय ४८ ओटा मतदान केन्द्र मध्ये भोजपुर (क) मा ७६ र भोजपुर (ख) मा ७२ ओटा रहेका छन् । त्यस्तै ८७ ओटा मतदान स्थल र ८१ ओटा वडा रहेका छन् ।