
युवराज विष्ट
भोजपुर, १२ मंसिर ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ छिनामखु श्रीदलीस्थित तीनकन्या जाल्पादेवी मन्दिर धार्मिक आस्थाको केन्द्रका रूपमा विकास हुँदै गएको छ । देवीप्रतिको गहिरो विश्वास र मनोकामना पूरा हुने जनविश्वासका कारण यहाँ पूजाआजा गर्न, भाकल चढाउन तथा दर्शन गर्न विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।
स्थानीयवासीका अनुसार तीनकन्या जाल्पादेवीलाई शक्तिकी देवीका रूपमा पुज्ने गरिएको छ । जीवनमा आइपर्ने विभिन्न समस्या समाधान होस, आफूले थालेका काम सफल होऊन् र परिवारमा सुख, शान्ति तथा समृद्धि छाओस् भन्ने कामनासहित भक्तजन यहाँ पुग्ने गरेका छन् । कुनै पनि शुभकार्य सुरु गर्नुअघि देवीसँग शक्ति माग्ने र आशीर्वाद लिएर काम गर्दा सफलता मिल्ने जनविश्वास स्थानीयमा रहेको छ ।
स्थानीयवासी जीवन राईका अनुसार तीनकन्या जाल्पादेवीप्रति स्थानीयको गहिरो धार्मिक विश्वास रहेको छ । कुनै पनि काम सुरु गर्नुअघि देवीसँग बल मागेर गर्दा सफलता मिल्ने जनविश्वास रहेकाले यहाँ पूजाआजा गर्ने परम्परा लामो समयदेखि चल्दै आएको उहाँले बताउनुभयो । देवीप्रतिको यही आस्थाका कारण स्थानीयवासीले विभिन्न अवसरमा पूजाआजा गर्ने र आफ्नो मनोकामना पूरा होस् भनी भाकल गर्ने गरेका छन् ।
यस मन्दिरमा विशेषगरी वैशाखे पूर्णिमाका अवसरमा भव्य पूजाआजा हुने गरेको छ । उक्त अवसरमा देवीको दर्शन तथा पूजाआजा गर्न भक्तजन आउने गरेका छन् । वैशाखे पूर्णिमाबाहेक अन्य समयमा पनि यहाँ नियमित रूपमा पूजाआजा हुने गरेको छ । धार्मिक विश्वासका आधारमा भक्तजनले आफ्नो अनुकूल समयमा मन्दिरमा पुगेर पूजा गर्ने, भाकल गर्ने तथा मनोकामना पूरा भएपछि देवीप्रति कृतज्ञता व्यक्त गर्ने गरेका छन् ।
आफूले चिताएको पूरा भएपछि भक्तजनले स्वेच्छाले दिने भेटी तथा सहयोगबाट देवस्थलको संरक्षण र व्यवस्थापनमा सहयोग पुग्दै आएको राईले बताउनुभयो । भक्तजनबाट प्राप्त सहयोगले धार्मिक स्थलको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ । दाताबाट प्राप्त आर्थिक सहयोगले मन्दिर क्षेत्रमा घेराबारा निर्माण, सिडीसहित बाटो, पूजाआजाका लागि मन्दिर क्षेत्रमा आवश्यक संरचना निर्माण गरिएको छ ।
आफ्नो भाकल पूरा गर्न देशका विभिन्न स्थानबाट भक्तजन तीनकन्या जाल्पादेवी आउने गरेको स्थानीयवासी बताउँछन् । देवीप्रतिको विश्वासका कारण यहाँ आउने भक्तजनले पूजाआजा गर्नुका साथै आफ्नो मनोकामना पूरा भएको विश्वासमा पुनः दर्शन गर्न आउने गरेका छन् । यसले मन्दिरको धार्मिक महत्व र पहिचानलाई थप स्थापित गर्न सहयोग पु¥याएको छ ।
ग्रामीण क्षेत्रमा रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाले स्थानीय परम्परा, विश्वास र सामाजिक सम्बन्धलाई जोड्ने काम गर्दै आएका छन् । तीनकन्या जाल्पादेवी मन्दिर पनि स्थानीयको धार्मिक आस्था र परम्परासँग जोडिएको महत्वपूर्ण स्थलका रूपमा रहेको छ ।






















