
युवराज विष्ट
भोजपुर,११ मङ्सिर ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ पाँचधारेमा किसानले उत्पादन गरेका कृषि उपजको एकीकृत संकलन, भण्डारण तथा बजारीकरणलाई व्यवस्थित गर्न रु. ११ करोड ८५ लाख लागतमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माण हुने भएको छ । भोजपुर र खोटाङ जिल्लाका किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणलाई व्यवस्थित गर्दै किसानलाई बजारसँग जोड्ने उद्देश्यले निर्माण गर्न लागिएको केन्द्रका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेको छ ।
भारत सरकारको सहयोगमा निर्माण हुने उक्त केन्द्रको कुल लागत रु.९ करोड ८८ लाख ६७ हजार ७८५ रहेको छ । परियोजनाको ९५ प्रतिशत रकम भारतीय दूतावासमार्फत उपलब्ध हुने र बाँकी पाँच प्रतिशत तथा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गाउँपालिकाले व्यहोर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण प्रक्रिया अघि बढाउन गाउँपालिकाले बोलपत्र आह्वान गरिसकेको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार निर्माण हुने केन्द्रमा आधुनिक भण्डारण कक्ष, चिस्यान व्यवस्थापन प्रणाली, कृषि उपज संकलनस्थल, वर्गीकरण तथा प्राथमिक प्रशोधनका सुविधाहरू रहनेछन् । विशेषगरी तरकारी, फलफूललगायत स्थानीयस्तरमा उत्पादन हुने कृषि उपजलाई सुरक्षित रूपमा भण्डारण गरी आवश्यकताअनुसार बजारसम्म पु¥याउन केन्द्रले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।
उचित बजार तथा भण्डारणको व्यवस्था नहुँदा कतिपय किसानले आफ्नो उत्पादन कम मूल्यमा बिक्री गर्नुपर्ने अवस्था रहेको छ । बजारसम्म पु¥याउन नसक्दा तथा लामो समयसम्म सुरक्षित राख्ने सुविधा नहुँदा कृषि उपज खेर जाने समस्या पनि किसानले भोग्दै आएका छन् ।
गाउँपालिका अध्यक्ष सरोज बस्नेतले भोजपुर र खोटाङ जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पाँचधारेमा दुवै जिल्लाका कृषि उपजलाई एकीकृत रूपमा संकलन तथा भण्डारण गर्ने लक्ष्यसहित केन्द्र निर्माण गर्न लागिएको बताउनुभयो । लामो समयदेखिको पहल, समन्वय र प्रयासपछि योजना कार्यान्वयनको चरणमा पुगेको उहाँको भनाइ छ । यसले मुन्दुम पदमार्गमा पर्यटन प्रर्वद्धनमासमेत टेवा पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।
“पाँचधारेमा आधुनिक कृषि उपज संकलन तथा बिक्री केन्द्र निर्माणका लागि बोलपत्र आह्वान गरेका छौँ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “कृषि उपजको संकलनसँगै बजारीकरणमा टेवा पु¥याउने उद्देश्यले ठूलो लगानीमा आवश्यक पूर्वाधार निर्माण गर्न लागेका हौँ ।”
उहाँका अनुसार यसलाई गाउँपालिकाको गौरवको योजनाका रूपमा लिइएको छ । केन्द्र निर्माण भएपछि स्थानीय किसानले उत्पादन गरेका कृषि उपजलाई एउटै स्थानमा संकलन गरी बजारको मागअनुसार वर्गीकरण, भण्डारण तथा बिक्री गर्न सहज हुनेछ । यसबाट किसानले आफ्नो उत्पादन बजारसम्म पु¥याउन भोग्दै आएको समस्या कम हुनुका साथै कृषि उपजको व्यवस्थित कारोबारमा सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।
भोजपुर र खोटाङ दुवै जिल्लाका किसानलाई लक्षित गरेर निर्माण गर्न लागिएको केन्द्रले कृषि उत्पादनको व्यावसायिक विस्तारमा समेत सहयोग पु¥याउने गाउँपालिकाको विश्वास छ । किसानले उत्पादन गरेका वस्तु संकलन गरी आवश्यकताअनुसार भण्डारण र बिक्री गर्न सकिने भएपछि उत्पादन बढाउन तथा नयाँ खेती प्रणाली अपनाउन किसानलाई प्रोत्साहन मिल्ने अध्यक्ष बस्नेतले बताउनुभयो ।
गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै स्थानीयस्तरमै रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्यसमेत लिएको छ । कृषि उपजको बजारीकरण सुनिश्चित भएमा किसानलाई परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्न सकिनु साथै गाउँमै उत्पादनमूलक गतिविधि विस्तार गर्न सहयोग पुग्ने अध्यक्ष बस्नेतको भनाइ छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईले केन्द्र निर्माणले किसानलाई कृषि उपजको बिक्री तथा व्यवस्थापनमा प्रत्यक्ष लाभ पुग्ने बताउनुभयो । उहाँका अनुसार यसबाट कृषि उत्पादनको बजारीकरण सहज हुनुका साथै पाँचधारे तथा आसपासका क्षेत्रमा व्यापारिक गतिविधि विस्तार गर्न पनि सहयोग पुग्नेछ । कृषि उपजको कारोबार बढ्दा स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना हुने र आर्थिक गतिविधि चलायमान बन्ने उहाँको भनाइ छ ।
टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले केन्द्र निर्माणले स्थानीय किसानको उत्पादनलाई बजारसम्म पु¥याउन सहज बनाउने बताउनुभयो । स्थानीय उत्पादनको संकलनदेखि बिक्री वितरणसम्मको व्यवस्था एउटै संरचनाबाट गर्न सकिने भएपछि टेम्केमैयुङसहित आसपासका क्षेत्रका किसान लाभान्वित हुने उहाँको भनाइ छ ।
उहाँका अनुसार पाँचधारे क्षेत्रमा कृषि उपज संकलन तथा बिक्री केन्द्र स्थापना हुँदा स्थानीयस्तरमा व्यापारिक गतिविधि बढ्ने छ । केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सके किसानले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापनमा दीर्घकालीन सहयोग पुग्ने उहाँले बताउनुभयो ।






















