पौवादुङमाका उत्कृष्ट काम गर्ने चार कर्मचारी र एक स्वयमसेविका नगदसहित सम्मानित, ५४ स्वयमसेविकालाई सामग्री हस्तान्तरण


युवराज विष्ट

भोजपुर, २८ असार।

भोजपुरको पौवादुङमा गाउँपालिकाले उत्कृष्ट कार्यसम्पादन गर्ने चार जनार कर्मचारी र एक जना स्वयमसेविका लाई नगदसहित सम्मान गरेको छ । गाउँपालिकाले सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै संस्थागत सुधारमा योगदान पु¥याउने कर्मचारीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा लेखा प्रमुख भक्ति राई, पूर्वाधार शाखा प्रमुख सोभित घिमिरे, वडा नं. २ तिवारीभञ्ज्याङका कर्मचारी डम्बर बल्लव खनाल, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका गोमादेवी राई तथा श्रेणीविहीन कर्मचारी पित्रमान राई रहनु भएको छ । उहाँहरूलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष किरण राईले कर्मचारीको मनोबल उच्च राख्ने लक्ष्यले उत्कृष्ट कार्य गर्ने कर्मचारी तथा स्वस्थ्य स्वयम सेविकालाई सम्मान गरिएको बताउनुभयो । सेवाग्राहीमैत्री र उत्तरदायी सेवा प्रवाहका लागि यस्ता प्रोत्साहनमूलक कार्यक्रम आवश्यक रहेको उहाँले जानकारी दिनुभयो । आगामी दिनमासमेत कार्यसम्पादनका आधारमा कर्मचारी मूल्याङ्कन गरी सम्मानलाई निरन्तरता दिइने उहाँको भनाइ थियो ।

उपाध्यक्ष ज्योत्सना राईले समुदायमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उनीहरूको योगदानको कदरस्वरूप सामग्री वितरण गरिएको उहाँले बताउनुभयो । स्वास्थ्य क्षेत्रमा स्वयंसेविकाहरूको सक्रियता बिना गाउँस्तरमा सेवा विस्तार कठिन हुने उहाँको भनाइ छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टाराईले कर्मचारी र स्वयंसेविकाहरूको सहकार्यले मात्रै स्थानीय तहको सेवा प्रवाह प्रभावकारी बन्ने बताउनुभयो । सबैलाई अझ जिम्मेवार भएर काम गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रमका अवसरमा ५४ जना महिला स्वास्थ्य स्वयंसेविकालाई झोला, टर्च र छाता वितरण गरिएको छ । ‘उपाध्यक्ष आत्मनिर्भर’ कार्यक्रममार्फत वितरण गरिएको उक्त सामग्रीले स्वयंसेविकाहरूलाई कार्यसम्पादनमा थप सहजता हुने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले कर्मचारी र स्वयंसेविकाहरूको मनोबल उच्च राख्न यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार