
भोजपुर, २३ असार । नेपाल सरकारद्वारा सञ्चालित सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत नेपाली सेनाको ‘गो ग्रीन क्याम्पेन’ कार्यक्रममार्फत भोजपुरमा ७० वटा बिरुवा रोपिएको छ।
डिभिजन वन कार्यालय भोजपुर र नयाँ श्रीनाथ गण, नेपाली सेनाको सहकार्यमा नयाँ श्रीनाथ गणको परिसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजनराज पौडेल, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा एभोकाडो, कल्कीफूल र नेपालको राष्ट्रिय फूल लालीगुराँसका गरी ७० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका कार्यालय प्रमुख खुद्रुस मियाले जानकारी दिनुभयो।
उहाँका अनुसार वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, जैविक विविधताको संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले वृक्षारोपण कार्यक्रम सञ्चालन गरिएको हो। नेपाल सरकारले अघि सारेको सगरमाथा वृक्षारोपण महाअभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जिल्लाका विभिन्न स्थानमा समेत यस्ता कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजनराज पौडेलले वृक्षारोपणलाई वातावरण संरक्षणको महत्वपूर्ण अभियानका रूपमा उल्लेख गर्दै रोपिएका बिरुवाको संरक्षण र नियमित हेरचाहमा सबै निकायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो।
सहभागीहरूले वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै हरियाली विस्तार र स्वच्छ वातावरण निर्माणमा सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिएका थिए।























