डिभिजन वन कार्यालयद्धारा कबुलियती वन समूहलाई १८ हजार ९२३ फलफूलका बिरुवा वितरण


भोजपुर, २२ असार ।
डिभिजन वन कार्यालय भोजपुरले गरीबीको रेखामुनि रहेका कबुलियती वन उपभोक्ता समूहका सदस्यहरूको जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले भोजपुरका १६ वटा कबुलियती वन समूहलाई १८ हजार ९२३ वटा फलफूल तथा बहुउपयोगी बिरुवा वितरण गरेको छ।

संघीय सरकारको सशर्त अनुदान तथा प्रदेश वन विकास तथा जडीबुटी प्रवर्द्धन कार्यक्रमको जीविकोपार्जन सुधार योजनामार्फत अरुण गाउँपालिका–१ याङपाङका तीन वटा तथा पौवादुङमा गाउँपालिका–३ का १३ वटा गरी १६ वटा कबुलियती वन समूहलाई बिरुवा वितरण गरिएको हो।

डिभिजन वन कार्यालय भोजपुरका कार्यालय प्रमुख खुद्रुस मियाका अनुसार वितरण गरिएका बिरुवामध्ये सुन्तलाका तीन हजार ७३०, कागतीका पाँच हजार ४००, आँपका दुई हजार ६७२, नास्पातीका ९५०, दाते ओखरका ८७५, टिमुरका ४००, एभोकाडोका दुई हजार ६१०, लिचीका एक हजार ८७६, अनारका ५० र अंगुरका ३६० वटा गरी कुल १८ हजार ९२३ वटा बिरुवा रहेका छन्।

कार्यालय प्रमुख मियाले कबुलियती वन उपभोक्ता समूहका अधिकांश सदस्य आर्थिक रूपमा विपन्न समुदायका रहेकाले उनीहरूको आयआर्जन वृद्धि गर्ने, वन संरक्षणसँगै फलफूल खेतीको विस्तार गर्ने तथा दिगो जीविकोपार्जनमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।

उहाँका अनुसार वन क्षेत्रको संरक्षण गर्दै खाली तथा उपयुक्त जमिनमा फलफूलका बिरुवा रोपण गर्नाले वनमाथिको निर्भरता कम हुनुका साथै स्थानीय समुदायलाई दीर्घकालीन आम्दानीको स्रोतसमेत प्राप्त हुनेछ। बिरुवाको उचित संरक्षण, नियमित स्याहार र व्यवस्थापन गर्न सके केही वर्षमै उपभोक्ताले फलफूल बिक्रीबाट उल्लेख्य आम्दानी लिन सक्ने विश्वास गरिएको छ।

फलफूलका बिरुवा रोपणले हरियाली प्रवर्द्धन, भू–क्षय तथा माटो कटान नियन्त्रण, जैविक विविधताको संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुग्ने कार्यालयले जनाएको छ। साथै स्थानीय स्तरमा फलफूल उत्पादन बढ्दा पोषण सुरक्षामा सुधार आउने, व्यावसायिक खेतीप्रति आकर्षण बढ्ने र ग्रामीण अर्थतन्त्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

डिभिजन वन कार्यालयले बिरुवा वितरणसँगै प्राविधिक परामर्श, नियमित अनुगमन तथा संरक्षणसम्बन्धी सहजीकरणसमेत गर्ने जनाएको छ। कार्यालयका अनुसार यस्ता कार्यक्रमले वन संरक्षण र गरिबी न्यूनीकरणलाई सँगसँगै अघि बढाउँदै कबुलियती वन समूहका सदस्यहरूको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार