सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत टेम्केमैयुङमा लालिगुराँस रोपण


युवराज विष्ट
भोजपुर, २१ असार ।
सगरमाथा वृक्षारोपण महाअभियान अन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्व बोकेको मुन्दुम पदमार्ग क्षेत्रमा पर्ने कालुमान गुरुङ पार्कमा लालिगुराँसका बिरुवा रोपण गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवद्र्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवद्र्धनलाई थप टेवा पु¥याउने उद्देश्यले गुराँस रोपण गरिएको हो ।
गाउँपालिकाका अनुसार, मुन्दुम पदमार्ग पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। यस मार्गअन्तर्गत पर्ने कालुमान गुरुङ पार्कलाई अझ आकर्षक, हरियालीयुक्त र पर्यावरणमैत्री बनाउने लक्ष्यसहित लालिगुराँस रोपण अभियान अघि बढाइएको हो। गुराँस नेपालको राष्ट्रिय फूलसमेत भएकाले यसको संरक्षण र विस्तारले सांस्कृतिक पहिचानलाईसमेत सुदृढ बनाउने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।


आइतबार आयोजित वृक्षारोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, प्रमुख जिल्ला अधिकारी राजन पौडेल, डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मिया, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अदित दाहाललगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। उक्त अवसरमा सहभागीहरूले संयुक्त रूपमा लालिगुराँसका बिरुवा रोपण गर्दै अभियानको सुरुवात गरेका हुन्।
डिभिजन वन कार्यालय भोजपुरले उपलब्ध गराएका ५०० वटा गुराँसका बिरुवामध्ये पहिलो चरणमा १०० वटा बिरुवा रोपिएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मियाले जानकारी दिनुभयो। उहाँका अनुसार बाँकी ४०० वटा बिरुवा गाउँपालिकाको समन्वय तथा स्थानीय समुदायको सहभागितामा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिने योजना रहेको छ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष सरोज बस्नेतले वातावरण संरक्षण, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनमा स्थानीयवासीको सक्रिय सहभागिता अपरिहार्य रहेकोमा जोड दिनुभयो।


यसैगरी, प्रमुख जिल्ला अधिकारी राजन पौडेलले यस्ता अभियानहरूले स्थानीय तह, वन कार्यालय तथा समुदायबीच सहकार्यको सुदृढ उदाहरण प्रस्तुत गर्ने बताउँदै दिगो विकासका लागि सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले पनि वृक्षारोपण कार्यक्रमलाई केवल औपचारिकतामा सीमित नराखी रोपिएका बिरुवाको नियमित संरक्षण, मलजल, रेखदेख तथा व्यवस्थापनमा सबै पक्षको जिम्मेवारीपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले वातावरणीय सन्तुलन कायम राख्न, पहिरो तथा भू–क्षय न्यूनीकरण गर्न र स्वच्छ वातावरण निर्माण गर्न यस्ता अभियान प्रभावकारी हुने उल्लेख गरेका थिए।
गाउँपालिकाले आगामी दिनहरूमा पनि सगरमाथा वृक्षारोपण महाअभियानलाई थप प्रभावकारी बनाउँदै विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार