भोजपुर, ९ मंसिर । सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भईरहेको छ । स्थानीय नागरिकलाई आफ्नै ठाउँमा विशेषज्ञ डाक्टरको सेवा दिने उद्धेश्यले चार दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।गाउँपालिकाको समन्वय तथा संयोजनमा कादुरी एशोसिएसन व्रिटिस गोर्खा नेपालले शिविर सञ्चालन गरेको हो । शिविरमा जनरल मेडिसिन,आँखा,दाँत, कान, इसिजी सेवा, अल्ट्रा साउनड टेष्ट, स्त्रीरोग, ल्याव परिक्षणलगायतको सेवा प्रवाह भईरहेको आयोजकले जनाएको छ ।
स्थानीय नागरिकहरुलाई सजह रुपमा स्वास्थ्य सेवा दिने लक्ष्यले गाउँपालिका केन्द्र अन्नपूर्णमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । मानव स्वास्थ्यमा ध्यान दिने सोचले शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतको भनाइ छ । “स्थानीय नागरिकलाई सहज स्वास्थ्य सेवा दिने लक्ष्यले यहाँ शिविर सञ्चालन गरेका छौँ”अध्यक्ष बस्नेतले भन्नुभयो,“शिविरबाट नागरिकहरुले एक साथ सवै खालको सेवा लिन सक्ने छन् । यति महत्वपूर्ण शिविर सञ्चालन गर्ने कादुरीलाई धन्यवाद दिन चाहन्छु ।”
नेपाल सरकारबाट प्राप्त श्रोत साधनबाट प्रवाह भईरहेको स्वास्थ्य सेवा प्रयाप्त नभएकोले कादुरीसँगको सहयकार्यमा शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ । रोग पहिचानसँगै त्यसको उपचारको लागि शिविर सञ्चालन गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । शिविरसँगै एसईई दिएर बसेको विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको लागि छनौटको काम समेत भईरहेको उहाँको भनाइ छ । छनौटमा परेका विद्यार्थीलाई कादुरीले निःशुल्क प्राविधिक शिक्षा दिने उहाँले जानकारी दिनुभयो ।
मंसिर ७ गतेबाट शुरु भएको शिविर मंसिर १० गतेसम्म सञ्चालन हुने कादुरीका प्रोजेक्ट म्यानेजर राजन राईले जानकारी दिनुभयो । सञ्चालन भइरहेको शिविरको व्रिटिसका राजदुतसमेतको समुहले शनिबार अवलोकन गरेको ।
स्वास्थ्य उपचारबाट बन्चित रहेको अवस्थामा सवै खालको रोगको निःशुल्क सेवा पाउँदा खुसी लागेको टेम्केमैयुङ ४ का स्थानीयबासी प्रेम राईले बताउनुभयो । ।“भौगोलिक विकटताका कारण राम्रो स्वास्थ्य सेवा लिन सकेका थिएनौँ”उहाँले भन्नुभयो,“निःशुल्क स्वास्थ्य शिविरमार्फत सवै खालका रोगको उपचार गर्न पाइयो । धेरै खुसी लागेको छ । यहि उपचार लिन बाहिरका अस्पतालमा जादा धेरै खर्च हुन्थ्यो ।”
दुर्गम भेगलाई लक्षित गरेर स्वास्थ्य शिविर सञ्चालनले उपचारको अभावमा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएको टेम्केमैयुङ २ का स्थानीयबासी काजीराम राईले बताउनुभयो । आफ्नै ठाउँमा निःशुल्क सेवा लिन पाउँदा खुसी लागेको उहाँको भनाइ छ । “शिविर सञ्चालनले दुर्गम क्षेत्रका हामी जस्ता धेरै नागरिकले सेवा पाएका छौँ” उहाँले भन्नुभयो,“सहज उपचार गर्ने अवस्था नहुँदा रोग लुकाएर बसेकाहरुले उपचार गर्न पाएका छौँ । ”