
भोजपुर, ८ साउन । भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका नागरिक व्यावसायिक मौरीपालनमा जुटेका छन् । स्थानीय सरकारले मौरी सम्वन्धि प्राविधिक ज्ञानसँगै आधुनिक घार बनाउने दुई चरणको तालिम दिएपछि उनीहरु व्यावसायिक मौरीपालनमा जुटेका हुन् ।
यहाँ मौरीको प्रशस्त सम्भावना रहेकोले किसानलाई व्यावसायिक मौरीपालनमा प्रोत्साहन गरिएको वडा कार्यालयले जनाएको छ । वैकुण्ठेका अधिकांश किसानले व्यवसायिक रुपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका बाक्वा, भामला, छापगाउँलगायत स्थान मौरीपालन हुने गरेको छ ।
मौरी सम्बन्धि आवश्यक तालिमपाएपछि व्यावसायिक मौरीपालनमा लाग्न सहजता भएको स्थानीय कृषक शरणकुमार वोहोराले बताउनुभयो । विगतमा परम्परागत मुढेघारमा मौरीपालन गरिरहेको भएपनि अहिले आधुनिक घारमा मौरीपालन थालेको उहाँले बताउनुभयो । दुई चरणको तालिममा सहभागी भएसँगै आफैले आधुनिक घार निर्माण गर्न थालेको वोहोराले बताउनुभयो । अहिले ३५ घार मौरीपालन गरिरहेको उहाँले बताउनुभयो । “मैले व्यावसायिक रुपमा मौरीपालन गरिरहेको छु” उहाँले भन्नुभयो,“विगतमा मुढेघारमा मौरी पाल्दै आएको थिए । वडा तथा गाउँपालिकाको पहलमा मौरी सम्वन्धि तालिम लिएपछि अहिले आधुनिक तरिकाले पालन थालेको छु । अहिले मसँग ३५ घार मौरी रहेका छन् ।”
स्थानीय सकारकाले मौरीपालक कृषकलाई आवश्यक प्राविधिक ज्ञानसँगै आधुनिक मौरीघार निर्माणको तालिम दिएपछि थप उत्साह थपिएको उहाँको भनाइ छ । यहाँका अधिकांश क्षेत्र मौरीपालनको लागि उपयोगी रहेकोले किसानलाई आवश्यक प्राविधि ज्ञानसँगै आधुनिक घार निर्माणको तालिम दिइएको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । किसानलाई मौरीपालनमा जोड दिएसँगै स्थानीयस्तरमा चाहिने मह यहि नै उत्पादन हुन थालेको वडाध्यक्ष आचार्यको भनाइ छ । विगतमा पराम्परागत रुपमा हुँदै आएको मौरीपालनलाई आधुनिक प्रविधिमा जोड्नको लागि काम गरिरहेको उहाँले बताउनुभयो ।
“हाम्रो वडामा मौरीपालनको राम्रो सम्भावना छ”वडाध्यक्ष आचार्यले भन्नुभयो,“किसानले आ–आफ्नो तरिकाबाट मौरीपालन गर्दै आएको अवस्था थियो । पराम्परागत रुपमा गरिदै आएको मौरीपालनलाई व्यावसायिकसँगै प्रविधि मैत्री बनाउन जोड दिएका छौँ । किसानलाई मौरीपालनबाट आयआर्जनमा जोड्न प्राथमिकता साथ काम गरिरहेका छौँ ।”
गाउँपालिकाले कृषक लक्षित विभिन्न खालका प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष पोखरेलले बताउनुभयो । किसानलाई तालिमसँगै मौरी घार वितरण, उन्नत जातको बाख्रा तथा बोका वितरण, सुन्तलाको नर्सरी स्थापना,लागत साझेदारीमा हाते ट्याक्टर, प्लाष्टिक टनेल, विद्युतिय मिल,सिँचाईको लागि पाएप हजारी लगायतका सामग्री वितरण गर्दै आएको उहाँको भनाइ छ ।
“हामीले माटो सुहाउँदो कृषि प्रणालीमा जोड दिँदै आएका छौँ”प्रशासकीय अधिकृत पोखरेलले भन्नुभयो,“किसानलाई नियमित तालिमको व्यवस्था गरेका छौँ । त्योसँगै किसानलाई लागत साझेदारीमा विभिन्न आधुनिक कृषि यन्त्र उपकरण पनि वितरण गर्दै आएका छोँ ।” किसानलाई स्थानीयस्तरमा नै कृषिबाट आयआर्जनमा जोड्नको लागि योजनाबद्ध रुपमा काम गरिरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले बार्षिक नीति तथा कार्यक्रम समावेश गरेर मौरीपालन तथा कृषिका अन्य क्षेत्रमा प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो ।
“कृषिबाट कृषकलाई आयआर्जनमा जोड्न आवश्यक कार्यक्रम सञ्चालन गरिरहेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“ हामीले गाउँपालिकाको कृषि रणनितिक योजना नै तयार पारेर योजनाबद्ध रुपमा काम गरिरहेका छौँ । यहाँको भूगोल र वातावरण सुहाउँदो कृषिको विकासमा जोड दिएका छौँ ।”






















