हतुवागढीले किसानलाई हल गोरु वितरण गर्ने


भोजपुर, २४ असार । भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।
पशुपंछी तथा कृषि विकासका लागि रु.५६ लाख २० हजार बराबरको कार्यक्रम सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो ।
किसानको मागको आधारमा आगामी आर्थिक वर्षमा नौ हल गोरु वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो । किसानलाई गोरु वितरणको लागि रु. तीन लाख ६० हजार बजेटसमेत विनियोजन गरिएको उहाँको भनाइ छ ।
“हामीले किसानलाई प्रोत्साहन गर्नको लागि हल गोरु वितरण कार्यक्रम अघि सारेका छौँ” प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो,“लम्की स्किन रोगले धेरै किसानका गोरु मरेका कारण उनीहरु समस्यामा छन् । यो कार्यक्रममार्फत उनीहरुलाई केहि राहत पुग्नेछ ।”
किसानलाई ५० प्रतिशत अनुदानमा गोरु वितरण गरिने प्रशासकीय अधिकृत निरौलाले बताउनुभयो । किसानलाई कृषिमा आत्मनिर्भर बनाउदै उनीहरुलाई आयआर्जनसँग जोड्न गाउँपालिकाले योजनावद्ध रुपमा काम गरिरहेको उहाँको भनाइ छ । पछिल्लो समय किसानहरुमा गोरु पाल्ने चलन हराउदै गएकाले यसको निरन्तरताको लागिसमेत यो कार्यक्रमले टेवा पुग्ने उहाँले बताउनुभयो ।
“पछिल्लो समय गाउँघरमा गोरु पाल्ने चलन पनि हराउदै गएको अवस्था छ” उहाँले भन्नुभयो,“ गोरु पाल्दा किसानलाई धेरै फाइदा छ । गोरु पाल्दा खेतबारी जोत्नसँगै मलमुत्र पनि काम लाग्छ ।” गाउँपालिकाले किसानलाई प्राथमिकता राख्दै यहाँको दिगो विकासमा जोड दिँदै आएको उहाँको भनाइ छ ।
किसानलाई कृषिमा लाग्न थप हौसला दिनको लागि योजनाबद्ध विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । किसानलाई आयआर्जनमा जोड्न एक घर एक करेसाबारी, नर्सरी स्थापना,मौरीपालन, प्लाष्टिक पोखरी निर्माण कार्यक्रम, सुन्तला खेती विस्तारलगायत कार्यक्रम सञ्चालन भईरहेको अध्यक्ष राईको भनाइ छ । त्यस्तै उत्कृष्ट किसान सम्मान कार्यक्रम सञ्चालन भईरहेको उहाँको भनाइ छ ।
“गाउँपालिकाका किसानहरुको जीवनस्तर सुधारको लागि कृषिको योजनाबद्ध विकासमा जोड दिएका छौँ” अध्यक्ष राईले भन्नुभयो,“किसानलाई लक्षित गरेर हल गोरु वितरणको कार्यक्रम अघि सारेका छौँ । यसले पनि किसानलाई थप सहयोग पुग्ने छ ।”
किसानलाई लक्षित गरेर उन्नत जातको भैंसी वितरण, गोठ सुधार लगायतको कार्यक्रम पनि सञ्चालन भइरहेको उहाँको भनाइ छ । समथर भू–भागका किसानलाई ध्यानमा राख्दै हाते ट्याक्टर लगायतका आधुनिक उपकरणसमेत वितरण भईरहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार