विद्युत् विस्तारसँगै वैकुण्ठेबासी उद्यममा जोडिदै


भोजपुर, १० असार । (रासस) विद्युत् विस्तारले भोजपुरको रामप्रसादराई गाउँपालिका ६ वैकुण्ठेका स्थानीयको दैनिकीमा सहजता थपिएको छ । भौगोलिक रुपमा जटिल रहेका यहाँका अधिकांश स्थानमा विद्युत् विस्तार गरिएपछि स्थानीयको दैनिकी सहज बनेको हो । विद्युत्को उपयोग गर्दै उनीहरुले अहिले आधुनिक विद्युतिय उपकरण सञ्चालन गरिरहेका छन् । विद्युतले कुटानी,पिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडा सदस्य जयन्द्रकुमार राईले बताउनुभयो । स्थानीयलाई अहिले विभिन्न विद्युतिय उपकरण जोडेर आफ्ना काम गर्न सक्ने वातावरण बनेको उहाँको भनाइ छ ।

“विद्युत् विस्तारसँगै स्थानीय उद्यमशिलतामा जोडिएको अवस्था छ”उहाँले भन्नुभयो,“विद्युत्ले दैनिकीलाई सहज तुल्याएको छ । हामीले विद्युत्को अधिकतम उपयोगमा जोड दिँदै गाउँले जीवनलाई सहज बनाउने प्रयत्न गरिरहेका छौँ ।” वडाले विद्युत् विस्तारको काम सम्पन्न भएपछि स्थानीयहरुलाई विद्युत्को माध्यमबाट उद्यमशिलतासँग जोड्न आवश्यक काम गरिरहेको जनाएको छ । यहाँका स्थानीयको कुटानी, पिसानीको समस्यालाई समाधान गर्दै उनीहरुलाई उद्यमी बनाउन वडाले १६ वटा आधुनिक विद्युतिय मिल वितरण गरेको छ ।

विद्युत् विस्तारपछि स्थानीयलाई उद्यममा जोड्न टोलस्तरमा १६ वटा आधुनिक मिल वितरण गरेको वडाध्यक्ष एकराज आचार्यले बताउनुभयो । वडाले रु. चार लाख ५० हजार बराबरको मिल वितरण गरेको वडाध्यक्ष आचार्यले जानकारी दिनुभयो । “भौगोलिक रुपमा विकट भएपनि हामीले यहाँका धेरै जसो भू–भागमा विद्युत् विस्तार गर्न सफल भएका छौँ” वडाध्यक्ष आचार्यले भन्नुभयो,“विद्युत् विस्तारपछि स्थानीयलाई यसको माध्यमबाट उद्यमी बनाउने लक्ष्यले १६ वटा आधुनिक मिल वितरण गरेका छौँ । विद्युत्को उपयोग गर्दै स्थानीयबासी उद्यममा जोडिएको अवस्था छ । हामीले पनि आवश्यक साथ सहयोग गर्दै आएका छौँ ।”

वडाले ‘बैकुण्ठेको उत्पादन काठमाण्डौँको भान्सामा’ भन्ने नाराका साथ रैथाने तथा नगदेबाली उत्पादनमा जोड दिएको वडाध्यक्ष आचार्यले बताउनुभयो । मिलको सहायताले यहाँ उत्पादन भएका कोदो, फापर, मकै, जौँलगायतका रैथानेबालीलाई पिसेर शहरका भान्समाा पु¥याउने योजनाका साथ काम गरिरहेको उहाँको भनाइ छ । यहाँको उत्पादनलाई बाहिर पठाउन बैकुण्ठेबाट गएर काठमाण्डौ तथा अन्य शहरमा बसेकाहरुसँग समन्वय गरिरहेको उहाँले जानकारी दिनुभयो ।

“विद्युतिय साधनको प्रयोग गरेर स्थानीयलाई उद्यमशिलतमा जोड्ने काम गरिरहेका छौँ” उहाँले भन्नुभयो,“रैथानेबालीको संरक्षणसँगै यसको उत्पादनलाई प्रशोधन पनि गरिरहेका छौँ । यहाँका रैथाने उत्पादनलाई पिसेर, कुटेर शहर पठाउने लक्ष्यले मिल वितरण गरेका हौँ । विद्युतिय उपकरणले स्थानीयको दैनिकीमा सहजतासमेत ल्याएको छ ।”

विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै स्थानीयबासीलाई सूचनाको पहुँचमा जोडिन सहज भएको वडासदस्य सावित्रा राईले बताउनुभयो । वडाले महिला उद्यमशिलतामा जोड दिएको उहाँको भनाइ छ । विद्युतिय मिल वितरणले उद्यमशिलतासँगै महिलालाई घरयासी कामकाजमासमेत सहजता भएको उहाँको भनाइ छ ।

“प्रविधिको उपयोगबाट दैनिकीलाई सहज बनाउन सकिदो रहेछ” उहाँले भन्नुभयो,“कुटानी, पिसानीको लागि घण्टोँ समय लगाएर अन्य ठाउँमा जानुपर्ने बाध्यत्मक अवस्था हटेको छ । विद्युत्को सहयताले विभिन्न उपकरण चलाएर छिनभरमा काम गर्ने अवस्था बनेको छ । जसको कारण स्थानीयबासीको दैनिकी सहज बनेको छ ।”

ग्रामिण महिलाको घण्टौ लगाएर कुटानी पीसानी गर्न जानु पर्ने बाध्यतालाई मध्यनजर गरेर मिल वितरण गरिएको  वडा सदस्य जानुका सुँयलले बताउनुभयो। यसले महिला उद्धमशिलतामासमेत आभिवृद्दी गरेको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार