भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोउन्नोति तीब्र


  1. भोजपुर, ३ असार । भोजपुरको अरुण गाउँपालिकामा जरायोटार– सिक्रेटार सडकको स्तरोउन्नतिले तिव्रता पाएको छ । सडकको कारण स्थानीयले पाएको सास्तीलाई ध्यानमा राख्दै यो सडक खण्डको कुल आठ किलो मिटर सडक मध्ये पाँच किलोमिटर सडकको स्तरोउन्नतिको थालिएको हो । वडा नं ७ सिक्रेटारको पहलमा गाउँपालिकाबाट विनियोजन भएको रु. एक करोड बजेटबाट दुई प्याकेजमा सडकको स्तरोउन्नतिको काम भईरहेको वडाध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । वडाको गौरवको योजनाको रुपमा रहेको यो सडकको विकास तथा विस्तारको काम तिव्र गतिमा भईरहेको उहाँको भनाइ छ । सडकलाई बाह्रै महिना सञ्चालन गर्ने लक्ष्यका साथ कामलाई अघि बढाएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

“जरोयोटार–सिके्रटार हाम्रो वडाको गौरवको सडक हो”वडाध्यक्ष थापाले भन्नुभयो,“वडाको पहलमा गाउँपालिकाबाट रु. एक करोड विनियोजन गरेर सडक स्तरोन्नतिको काम गरिरहेका छौँ । वडाको गौरवको योजना रहेकोले यो सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।” वर्षातमा आवत जावतमा समस्या भएपछि यसअघि वडाकाे पहलमा गाउँपालिकाबाट रु.१५ लाख बजेट विनियोजन गरेर भोजपुर–लेगुवा सडकको शुन्य विन्दुबाट करिव तीन किलोमिटर स्तरोउन्नतिको काम सम्पन्न गरेको वडाध्यक्ष थापाले बताउनुभयो । हाल स्तरोउन्नति भईरहेको सडकको करिव ९० प्रतिशत काम सम्पन्न भएको उहाँको भनाइ छ ।

“यो सडक हाम्रो वडाको विकासको मेरुदण्ड हो”वडाध्यक्ष थापाले भन्नुभयो,“यसलाई हामीले प्राथमिकतामा राखेर काम गरिरहेका छौँ । सडकको कारण स्थानीयलाई पुगेको असुविधालाई ध्यानमा राखेर वडाले जरायोटारको शुन्य बिन्दुबाट तीन किलोमिटर यस अघि नै स्तरोन्नति सम्पन्न गरिसकेका छ । अहिले भईरहेको काम सम्पन्न भएपछि यहाँ बाह्रै महिना यातायात सञ्चालन हुन्छ ।” नमूना वडा बनाउने लक्ष्यको साथ सीमित बजेटको अधिकतम परिचालन गरेर विकासका गतिविधिलाई अघि बढाएको वडाध्यक्ष थापाको भनाइ छ ।


सडकको बाटोमा रहेको ठुला चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याविन जाली भर्ने, नाली कटाउने, मेसीनरी पर्खाल लगाउने, अप्ठ्यारो ठाउँमा ढलान गर्ने, ग्राबेल गर्ने लगायतको काम भईरहेको छ । सडक स्तरोन्नति थालिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावतमा सहजता हुने स्थानीयबासी केदारप्रसाद अधिकारीले बताउनुभयो । वडाको अगुवाईमा भईरहेको कामले स्थानीयमा उत्साह थपिएको उहाँले बताउनुभयो । सडकको स्तरोन्नति भएपछि स्थानीयको दैनिकीमा सहजता थपिएको उहाँको भनाइ छ । “हाम्रो वडासम्म प्रवेश गर्ने मुख्य सडक नै यहि हो”उहाँले भन्नुभयो,“ यो सडकलाई हामीले वडाको गौरवको सडकको रुपमा लिएका छौँ । सडक स्तरोन्नतिले स्थानीयबासीमा उत्साह थपिएको छ । स्तरोन्नतिको काम सकिएपछि हामीलाई बाह्रै महिना आवत जावतमा सहजता हुनेछ । वडाको कामप्रति हामी धेरै खुसी छौँ ।”

सडकको स्तरोन्नतिले गाउँपालिका, भोजपुर सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेशमा सहजता हुने स्थानीयबासी टेकबहादुर बस्नेतले बताउनुभयो । विरामी भएको अवस्थामा सहज रुपमा वडासम्म एम्वुलेन्स आउने अवस्था बनेको उहाँको भनाइ छ । “विगतमा सडकको कारण धेरै समस्या थियो”उहाँले भन्नुभयो,“अहिले तिव्र गतिमा सडकको स्तरोन्नती भईरहेको छ । सडक स्तरोन्नतिपछि यहाँका स्थानीयलाई सुविधा थपिएको अवस्था छ । यसले यहाँको दैनिकीमा सहजता भएको छ । सडकको कारण यहाँका कृषि उपजको बजारीकरणमासमेत सहज छ । विरामी हुँदा सहज रुपमा अस्पतालसम्म पुग्ने अवस्था बनेको छ ।”

रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार