
काठमाडौं, २२ चैत । नेपाल वायुसेवा निगमले युएई उड्न लागेको वाइड बडी जहाज रोकिएकोमा विमानस्थल कार्यालयप्रति असन्तुष्टि व्यक्त गरेको छ। मंगलबार राति युएई उड्न तयार जहाजलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उड्न रोकेको थियो। विमानस्थल मर्मतको काम सुरु भएको निहुँमा जहाज रोकिएको हो। अचेल मर्मतको लागि बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुन्छ।
१० बजे नै उड्न तयार जहाजलाई विमानस्थल बन्द भइसकेको भन्दै रोकिएको थियो। चार मिनेट थप समय दिन अनुरोध गरेकोमा नदिएको जहाजका पाइलट बताउँछन्। ती पाइलटका अनुसार चार मिनेट बढी समय दिएको भए जहाज उड्ने थियो। तर, विमानस्थल कार्यालयले १० बजेपछि त्यति समय नदिँदा दुई सय ७१ यात्रुको बिचल्ली भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए।
यस्तो थियो घटना
निगमको आरए २३१ नम्बरको उडान भर्ने जहाजलाई ८ः३० बजे ह्यांगरबाट पार्किङ वेमा ल्याइएको थियो। क्याटरिङ आइटमसँगै यात्रुलाई पनि जहाज चढाइयो। यात्रु चढाइसकेर ९ः३७ मा जहाजमा इन्धन भर्न सुरु गरियो। इन्जिनियरिङ क्लियरेन्स पाएपछि ९ः४५ मा जहाजका ढोका समेत बन्द गरियो।
ढोका बन्द गरी उडान सुरु गर्ने तयारी हुँदै गर्दा ड्र्यागन एयरको जहाज उड्न ठिक परेको थियो। १० बज्न तीन मिनेट बाँकी हुँदा ड्र्याग उड्यो तर नेपाल एयरलाइन्सको जहाज उड्न पाएन।






















