स्वतन्त्र प्रेस र निर्भय पत्रकारितामा अङ्कुश असह्य


बर्दिवास, ६ चैत । प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले स्वतन्त्र प्रेस र निर्भय पत्रकारितामा कुनै अङ्कुश सह्य नहुने बताउनुभएको छ । महोत्तरीको बर्दिवासमा प्रदेशसभा–२ सचिवालय र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले मङ्गलबार आयोजना गरेको संसदीय मामिला पत्रकारिता तथा संसद् सचिवालय र पत्रकार सम्बन्ध विषयक अभिमुखीकरण कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्रले समाजमा देखिने समस्या उजागर गर्दै सत्यतथ्य सूचना पस्केर जनतालाई सुसूचित गर्नुपर्ने बताउनुभयो ।

अनुमान, आग्रह र निजी विचार समाचारका आउँदा त्यसले जनमानसमा पार्ने नकारात्मक प्रभावबारे सञ्चारजगत् सचेत हुनपर्ने मन्त्री यादवको सुझाव थियो ।कार्यक्रममा पत्रकार तारानाथ दाहालले संसदीय मामिला पत्रकारिताः अवधारणा, अभ्यास र चुनौती एवं संसद्, संसद् सचिवालय, सांसद र पत्रकार सम्बन्धसहित दुई कार्यपत्रमा छलफल गराउनुभयो । त्यसैगरी पूर्वसांसद अधिवक्ता रेवतीरमण भण्डारीले संसदीय प्रक्रिया र सूचना सम्प्रेषण विषयको कार्यपत्रमा अन्तरक्रियात्मक छलफल गराउनुभयो ।

कार्यक्रमले सहभागी पत्रकारलाई प्रदेशसभा र सङ्घीय संसद्मा रिपोर्टिङ गर्न कानूनी र मर्यादापालनबारे जानकारी पाइएको कार्यक्रमका सहभागी एवं नेपाल पत्रकार महासङ्घ प्रदेश नं २ का उपाध्यक्ष गायत्री मिश्रको भनाइ छ । प्रदेशसभा–२ का उपसभामुख उपमाकुमारी देव र प्रदेशसभा सदस्य शारदा थापाले स्वतन्त्र प्रेस र निर्भय पत्रकारिता लोकतन्त्र संस्थागत गर्न सहयोगी हुने धारणा व्यक्त गर्नुभयो । कार्यक्रममा महोत्तरी, सर्लाही र धनुषाका संसदीय गतिविधिमा रिपोर्टिङ गर्ने ३० सञ्चारकर्मी सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार