म्याद गुज्रिएको अखाद्य वस्तु फेला


मधुमल्ला । ‘गुणस्तरीय वस्तु र सेवा उपभोगको अधिकार हामी सबैको सरोकार’ भन्ने मूल नाराका साथ शुक्रबार ‘विश्व उपभोक्ता अधिकार दिवस’ मनाइरहँदा बिहीबार मोरङको उत्तरी गाउँपालिका मिक्लाजुङमा भने म्याद गुज्रिएको अखाद्य वस्तु फेला परेको छ ।  मिक्लाजुङ–७, मधुमल्ला बजारमा म्याद गुज्रिएको गुलाबजामुन नामक मिठाइ फेला परेको हो । स्थानीय पासाङ तामाङले स्थानीय जितेन्द्र किराना पसलमा खरिद गर्नेक्रममा म्याद गुज्रिएको मिठाइ फेला पारेको थिए ।

सन् २०१८ फेब्रुअरीमा उत्पादित उक्त मिठाइ उत्पादन भएको मितिले चार महिनाभित्र प्रयोग गरिसक्नु पर्ने भन्ने उल्लेख छ । तामाङले गाउँपालिकामा मिठाइसहित उजुरी दिने तयारी गरेका छन् । यस्तो हकमा खाद्य ऐन २०२३ र नियमावली २०२७ आकर्षित हुन्छ ।  बजार अनुगमन समितिका सचिव तथा मिक्लाजुङ स्वास्थ्य प्रमुख चिन्तामणि पोखरेलले अखाद्य वस्तु बेचेको पाइए खाद्य ऐन अन्तर्गत कारबाही हुने बताए । तर, कारबाही के हुने भन्नेबारे प्रष्टाएनन् । स्थानीय बजार अनुगमन नहुँदा खुलेआम यस्ता अखाद्य वस्तुको बिक्रीवितरण भइरहेको छ ।

विशेष गरी ग्रामीण भेगका बजारमा यो समस्या झनै बिकराल छ । हरेक वर्ष विश्व उपभोक्ता अधिकार दिवस मनाइए पनि अनुगमनतर्फ पनि स्थानीय सरकार उदासिन छ । जसको प्रत्यक्ष मार उपभोक्ताले खेप्ने गरेका छन् । समितिका सचिव पोखरेलले चाँडै नै बजार अनुगमन गरी सुद्धता कायम गर्ने दाबी गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार