
युवराज विष्ट
भोजपुर, १३ चैत ।
भोजपुरको मुन्दुम पदमार्गअन्तर्गत पर्ने टेम्केमैयुङ गाउँपालिका–स्थित पर्यटकीय स्थल चखेवामा सञ्चालन हुन लागेको ‘रैथाने खाना महोत्सव’मा पत्रु खाना (जंक फुड) को बिक्री–वितरणमा पूर्ण रूपमा रोक लगाइएको छ।
नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना गर्न लागिएको उक्त महोत्सव आगामी चैत ३० गतेदेखि बैशाख २ गतेसम्म सञ्चालन हुनेछ। आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै महोत्सव अवधिभर पत्रु खाना(जंक फुड) बिक्री नगर्न कडाइका साथ निर्णय गरिएको जानकारी दिएको हो।
स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यका साथ महोत्सव आयोजना गरिएको चखेवा होटल तथा होमस्टे व्यवसायी संघका अध्यक्ष विवेक कुलुङले बताउनुभयो। उहाँका अनुसार महोत्सवमा कोदोको रोटी, ढिडो, वाचिपा, गुन्द्रुक, भुटेको मकै,फापरको रोटी, भेडाको मासुलगायत स्थानीय परिकारहरू मात्र उपलब्ध गराइनेछ।
“हामीले स्थानीय उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले रैथाने खाना महोत्सव आयोजना गरेका हौँ,” अध्यक्ष कुलुङले भन्नुभयो, “यस अवधिभर पत्रु खाना बिक्रीमा पूर्ण रोक लगाइनेछ।” महोत्सवमा रैथाने परिकारका करिब २० वटा स्टल रहने पनि उहाँले जानकारी दिनुभयो।
टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले महोत्सवमार्फत स्थानीय किसान, उद्यमी तथा व्यवसायीलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको बताउनुभयो। उहाँका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजारीकरणसँगै पर्यटकलाई आकर्षित गर्नेछ।
वडा नम्बर–३ का अध्यक्ष पूर्णप्रसाद राईले विगतमा सञ्चालन भएका यस्ता कार्यक्रमका कमजोरी सुधार्दै यसपटक अझ व्यवस्थितढंगले महोत्सव सञ्चालन गरिने बताउनुभयो। उहाँले रैथाने खानामा विशेष जोड दिनुपर्नेमा पनि जोड दिनुभयो।
त्यस्तै वडा नम्बर–४ नागीका अध्यक्ष हर्कराज राईले महोत्सव केवल खानपानमा सीमित नभई स्थानीय उत्पादन प्रदर्शनी, सांस्कृतिक कार्यक्रम तथा विभिन्न पर्यटकीय गतिविधिसमेत समेटिने जानकारी दिनुभयो।
टेम्केमैयुङ गाउँपालिका र पदमार्गमा आधारित पर्यटन विकास परियोजना (टिटिडिपी) हेल्भेटास नेपालको आर्थिक सहयोगमा महोत्सव आयोजना हुन लागेको हो। आयोजकका अनुसार महोत्सवले स्थानीय संस्कृति, परम्परा र जीवनशैलीको प्रवद्र्धनमा समेत महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

















