स्थानीय तह लक्षित अख्तियारको कार्यक्रम, सुशासन सुदृढ गर्ने लक्ष्य


युवराज विष्ट
भोजपुर, ११ चैत ।
भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने लक्ष्यसहित आयोगले जिल्लास्तरमा आफ्नो सक्रियता बढाएको हो।
आयोगले स्थानीय तह, शैक्षिक संस्था तथा विभिन्न सरकारी कार्यालयहरूसँग सहकार्य गर्दै जनप्रतिनिधि, कर्मचारी, शिक्षक, तथा सर्वसाधारणलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा सहभागीहरूलाई भष्टचार सम्बन्धि उजुरीको प्रवृति, भ्रष्टाचारका स्वरूप, त्यसका कारण र असर, कानुनी व्यवस्था तथा न्यूनीकरणका उपायबारे विस्तृत जानकारी गराइएको छ ।
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि आयोगले चार वटा रणनीतिमार्फत कार्यक्रम सञ्चालन गरिरहेको आयोगका इटहरी कार्यालय प्रमुख यज्ञ पुरीले बताउनुभयो । उपचारात्मक, संस्थागत क्षमता विकास, प्रवद्र्धनात्मक र निरोधात्मक रणनीति अपनाएर भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनमा काम भइरहेको उहाँको भनाइ छ ।
आयोगले हेर्ने १३ वटा क्षेत्रमध्ये सबैभन्दा बढी स्थानीय तहसम्बन्धी ३८ दशमलव २३ प्रतिशत उजुरी परेको उहाँले जानकारी दिनुभयो ।
भोजपुर जिल्लामा आर्थिक वर्ष २०८१÷८२ मा ५८ वटा उजुरी परेको जानकारी दिँदै उहाँले अघिल्लो वर्षबाट सरेर आएका १५ सहित जम्मा ७२ वटा उजुरीमध्ये ५५ वटा फछ्र्यौट भइसकेका र १७ वटा प्रक्रियामा रहेको बताउनुभयो ।
कार्यक्रमका क्रममा सहभागीहरूले सेवा प्रवाहमा देखिएका समस्या, ढिलासुस्ती, अनियमितता तथा घुसखोरीजस्ता विषयमा आफ्ना अनुभव र गुनासाहरू पनि राखेका थिए। उनीहरूले कतिपय अवस्थामा प्रक्रियागत जटिलता, सूचना अभाव तथा निगरानीको कमजोरीका कारण सेवाग्राहीले सास्ती भोग्नुपरेको उल्लेख गरेका छन् ।
अख्तियारका प्रतिनिधिहरूले भ्रष्टाचारविरुद्धको अभियान केवल आयोगको मात्र नभई सम्पूर्ण नागरिक, कर्मचारी र जनप्रतिनिधिको साझा जिम्मेवारी भएको बताए । उनीहरूले सेवा दिने निकायमा पारदर्शिता, उत्तरदायित्व र नैतिकता कायम गरिनुका साथै सेवा लिने नागरिक पनि सचेत र जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
कार्यक्रममा सार्वजनिक निकायमा हुने ढिलासुस्ती, स्रोतसाधनको दुरुपयोग, अधिकारको दुरुपयोग तथा आर्थिक अनियमितताले समग्र विकास प्रक्रियामा नकारात्मक असर पार्ने भएकाले त्यस्ता गतिविधि नियन्त्रण गर्न कडाइका साथ कदम चाल्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले आयोगले स्थानीय तह लक्षित गरेर सञ्चालन गरिरहेको कार्यक्रम प्रभावकारी रहेको बताउनुभयो । सचेतना अभावमा कतिपय विषयमा आवश्यक जानकारी नहुँदा प्रक्रिया त्रुटी हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले जनप्रतिनिधि र कर्मचारीलाई थप जिम्मेवार र सक्षम बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।
आयोगले यस्ता सचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ। जिल्लाका अन्य स्थानीय तह तथा दुर्गम क्षेत्रसम्म पुगेर सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रणका कार्यक्रमलाई अझ प्रभावकारी बनाउने योजना रहेको आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार