
युवराज विष्ट
भोजपुर, ९ चैत । भोजपुरको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन उद्घाटन गरिएको छ। सोमबार एक औपचारिक कार्यक्रमका बीच गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीको उपस्थितिमा ३४ कोठे आधुनिक भवन उद्घाटन गरी सञ्चालनमा ल्याइएको हो।
लिफ्टसहितको चारतले उक्त भवन भ्याटसहित रु. ७ करोड ८७ लाख ६४ हजार ७६२ को लागतमा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिनुभयो। उहाँका अनुसार निर्माण कम्पनीसँग भएको सम्झौता बमोजिम तोकिएको दुई वर्षको अवधिमै भवन निर्माण कार्य सम्पन्न गरिएको हो। भवन निर्माण कार्य वि.सं. २०८० मंसिर महिनाबाट सुरु गरिएको थियो।
नयाँ प्रशासनिक भवन आधुनिक संरचना, पर्याप्त कार्यकक्ष तथा सेवाग्राहीमैत्री पूर्वाधारसहित निर्माण गरिएको छ। भवनमा विभिन्न शाखाका लागि छुट्टाछुट्टै कक्ष, बैठक कक्ष, सेवा कक्ष तथा आवश्यक प्रशासनिक संरचना समेटिएको छ। लिफ्टको सुविधा समावेश गरिएकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू तथा सेवाग्राहीलाई सहज पहुँच हुने अपेक्षा गरिएको छ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले स्थानीय नागरिकलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित भवन निर्माण गरिएको बताउनुभयो।
“आफ्नै भवन नहुँदा पुरानो स्वास्थ्य चौकीको भवन तथा भाडाका संरचनाबाट सेवा सञ्चालन गर्नुपर्ने बाध्यता थियो” उहाँले भन्नुभयो, “अब आफ्नै व्यवस्थित भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीलाई धेरै सहज हुनेछ। यो एउटा हतुवागढीबासीको लागि गौरवका विषय पनि हो । आजबाट एउटै भवनबाट नागरिकले सेवा लिने अवस्था बनेको छ ।”
उहाँले नयाँ भवनसँगै सेवा प्रवाहमा पारदर्शिता, छरितोपन र गुणस्तरमा सुधार आउने विश्वास व्यक्त गर्नुभयो। साथै, गाउँपालिकाको समग्र प्रशासनिक कामकारबाहीलाई व्यवस्थित बनाउन भवनले महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ ।
गाउँपालिकाले दिएको जानकारी अनुसार उक्त भवन केन्द्रीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण गरिएको गाउँपालिका उपाध्यक्ष सुनिता किरातीले बताउनुभयो । देश संघीय संरचनामा गएर स्थानीय सरकार कार्यान्वयनमा आएपछि नागरिकको जनजीविकामा परिवर्तन आएको उहाँको भनाइ छ ।
नयाँ भवन निर्माणसँगै सरकारी सेवा लिनका लागि अब सहजता हने स्थानीयले प्रतिक्रिया दिएका छन्। नयाँ भवन सञ्चालनमा आएसँगै सेवा प्रवाह थप प्रभावकारी, व्यवस्थित र सेवामुखी हुने स्थानीयको अपेक्षा छ ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिति पूर्व सांसद धनहर्क राई रहनु भएको थियो । कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष,राजनितिक दल, विभिन्न संघसंस्थाका प्रतिनिधि,कर्मचारी स्थानीय नागरिकका सहभागिता रहेको थियो ।



















