उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम :उन्नत जातका गाई पालेर उद्यममा जोडिदै पौवादुङमाका किसान


युवराज विष्ट
भोजपुर, ८ चैत ।
भोजपुरको पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको छ। परम्परागत निर्वाहमुखी कृषिमा सीमित रहेका किसानहरू अहिले क्रमशः व्यावसायिक पशुपालनतर्फ उन्मुख हुँदै नियमित आम्दानी गर्ने बाटोमा अघि बढेका छन्।
गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको गाईबाट उत्पादन भएको दूध बिक्री गर्दै किसानहरूले गाउँमै आयआर्जन गर्न थालेका छन्। यसले वैदेशिक रोजगारी र बाह्य आय स्रोतमा निर्भरता घटाउँदै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने वातावरण तयार पारेको छ।
श्यामशिलाका किसान निमदोर्ची शेर्पा यस कार्यक्रमबाट प्रत्यक्ष लाभान्वित हुनेमध्ये एक हुनुहुन्छ। उहाँका अनुसार अनुदानमा प्राप्त एक माउ गाईबाट अहिले मासिक रु. आठदेखि दश हजारसम्म आम्दानी भइरहेको छ। “पहिले दूध बेच्ने चलन नै थिएन, गाईपालन पनि घरायसी प्रयोजनमै सीमित थियो,”उहाँले भन्नुभयो, “अहिले व्यावसायिक रुपमा गाईपालन गर्दा राम्रो आम्दानी हुने रहेछ भन्ने बुझाइ आएको छ। अब थप गाई पालेर व्यवसाय विस्तार गर्ने योजना छ।”
गाउँपालिकाले श्यामशिला, तिवारीभञ्याङ र च्याङ्ग्रे गरी तीन वडामा ३९ वटा उन्नत जातका गाई वितरण गरेको थियो। दूध उत्पादन बढेसँगै बजार व्यवस्थापनको आवश्यकता महसुस भएपछि श्यामशिलामै दुग्ध संकलन तथा प्रशोधन गर्ने सानो उद्योग सञ्चालनमा आएको छ। किसानहरूले आफूले उत्पादन गरेको दूध यही उद्योगमा लगेर बिक्री गर्दै आएका छन् । जसले उनीहरूलाई सहज बजार सुनिश्चित गरेको छ।
गत आर्थिक वर्षमा ‘उपाध्यक्ष आत्मनिर्भर कार्यक्रम’ अन्तर्गत गाउँपालिकाले रु. ५० लाख बजेट विनियोजन गरेर गाई वितरण गरेको हो। किसानलाई दीर्घकालीन रूपमा उद्यमशीलतामा जोड्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो। उहाँका अनुसार वितरण गरिएका गाईहरूको नियमित अनुगमन, स्वास्थ्य परीक्षण र प्राविधिक सहयोगसमेत उपलब्ध गराइँदै आएको छ।
“गाई वितरण मात्रै गरेर हुँदैन”उपाध्यक्ष राईले भन्नुभयो,“त्यसलाई दिगो बनाउन आवश्यक सहजीकरण पनि उत्तिकै आवश्यक हुन्छ । त्यसैले गाउँपालिकाले किसानलाई तालिम, प्राविधिक सेवा र अन्य आवश्यक सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ।”
उहाँका अनुसार चालु आर्थिक वर्षमा पनि गाउँपालिका र किसानको लागत साझेदारीमा करिब रु. ३० लाख बराबरको गाई वितरण कार्यक्रम सञ्चालन गरिनेछ।
गाउँपालिकाले गाई वितरणसँगै किसानलाई उन्नत जातको घाँस, घाँस उत्पादनसम्बन्धी तालिम तथा घाँस काट्ने ‘च्याप कटर’ जस्ता उपकरणसमेत वितरण गर्दै आएको छ। यसले पशुपालनलाई व्यवस्थित र उत्पादनमुखी बनाउन सहयोग पुगेको किसानको भनाइ छ ।
दूध उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै किसानको जीवनस्तर उकास्ने लक्ष्यसहित ‘दुग्ध मिसन कार्यक्रम’ सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिनुभयो। “गाउँपालिकाले थालेको यो अभियानले सकारात्मक परिणाम दिन थालेको छ,” अध्यक्ष राईले भन्नुभयो“किसानहरू गाउँमै बसेर आम्दानी गर्न थालेका छन्। आगामी दिनमा यसलाई अझ विस्तार गरिनेछ।”


यस्तै, पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङका अनुसार स्थानीयस्तरमा उत्पादन भएको दूध अहिले भोजपुर सदरमुकामसम्म पुग्न थालेको छ। “श्यामशिलामा मात्र २१ जना किसानलाई गाई वितरण गरिएको छ,” उहाँले भन्नुभयो, “उत्पादन बढेसँगै व्यापारीहरू गाउँमै आएर दूध किन्ने गरेका छन्। जसले किसानलाई थप हौसला मिलेको छ।”
बजारसँगको पहुँच विस्तार हुँदै जाँदा यहाँको दुग्ध उत्पादनले व्यावसायिक रूप लिन थालेको छ। विगतका वर्षहरूमा गाउँपालिकाले उन्नत जातको भैंसी वितरण कार्यक्रमसमेत सञ्चालन गरेको थियो । गाई, भैंसी वितरणसँगै उत्पादन भएको प्राङगारिक मलको सदुयोग गराउने लक्ष्यले ‘एक घर एक फलफूल’ बगैँचा कार्यक्रसमेत सञ्चालन भईरहेका गाउँपालिकाले जनाएको छ ।
पशुपालन तथा कृषिलाई आधुनिक र व्यावसायिक बनाउँदै स्थानीय अर्थतन्त्र मजबुत बनाउन योजनाबद्ध रुपमा काम थालिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । ग्रामीण क्षेत्रमा आयआर्जनको श्रोत विस्तारसँगै आत्मनिर्भरता प्रवद्र्धन गर्न कृषिका कार्यक्रमलाई प्राथमकिता दिइएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार