
भोजपुर, ६ चैत ।
भोजपुरको टेम्केमैयुङ गाउँपालिका को १९औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभा शुक्रबार सम्पन्न भएको हो। सभाले चालु आर्थिक वर्षका लागि कुल दुई करोड दुई लाख ८५ हजार रुपैयाँ बराबरको बजेट पारित गरेको छ। पारित बजेटमार्फत शिक्षा, पूर्वाधार, खानेपानी तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशाकीय अधिकृत अदित दाहालले बताउनुभयो ।
सभाबाट प्राविधिक विषयमा उच्च शिक्षा हासिल गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने महत्वपूर्ण निर्णय गरिएको छ। साथै, सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक जना छात्रालाई आगामी शैक्षिक सत्रदेखि जनही रु. ५० हजार प्रोत्साहन स्वरूप उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष सरोज बस्नेत ले जानकारी दिनुभयो।
सामुदायिक विद्यालयप्रति विद्यार्थीको आकर्षण बढाउने तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले यस्ता कार्यक्रम ल्याइएको अध्यक्ष बस्नेतको भनाइ छ। “शिक्षा क्षेत्रमा लगानी बढाएर दीर्घकालीन रूपमा सक्षम जनशक्ति उत्पादन गर्ने लक्ष्य हाम्रो हो,” उहाँले भन्नुभयो।
यसैगरी, गाउँसभाले खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि विभिन्न वडामा गरी रु. २२ लाख बजेट विनियोजन गरेको छ। पूर्वाधार विकास अन्तर्गत वडा नं. १ तिम्मामा सडक निर्माणका लागि रु. १८ लाख, वडा नं. २ मा रु. ११ लाख ५० हजार, वडा नं. ३ मा जेष्ठ नागरिक भवन निर्माणका लागि रु. ९ लाख, तथा वडा नं. ४ नागीमा सभाहल निर्माणका लागि रु. १८ लाख बजेट छुट्याइएको छ।

त्यस्तै, वडा नं. ५ नूनथलेमा कुलो निर्माणका लागि रु. ४ लाख, चोलन्ती आधारभूत स्वास्थ्य इकाईका लागि रु. १ लाख ५० हजार र खावा स्वास्थ्य चौकीका लागि रु. ४ लाख बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।
सभाले कृषि क्षेत्रको उत्पादन वृद्धि र किसानको आयआर्जन बढाउने लक्ष्यसहित कृषि विकासका विभिन्न कार्यक्रम सञ्चालनका लागि समेत बजेट विनियोजन गरेको छ। कृषकहरुले उत्पादन गरेको कृषि उपजको बजारीकरणको लागि कृषि एम्बुलेन्स सञ्चालन ल्याउने योजना गाउँपालिकाले अघि सारेको छ । त्यस्तै किसानलाई सहज कुटानी पिसानीको लागि विद्युतिय मिल वितरण गर्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
गाउँसभाबाट पारित कार्यक्रमहरूले स्थानीय पूर्वाधार सुदृढ गर्नुका साथै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा सुधार ल्याउने विश्वास गरिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो ।


















