
युवराज विष्ट
भोजपुर, ६ चैत ।
भोजपुरको हतुवागढी गाउँपालिकाले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई राहतस्वरूप एक सय थान त्रिपाल वितरण गरेको छ। हावाहुरीका कारण धेरै घर, गोठ तथा अन्य संरचनाको छाना उडाउँदा स्थानीयवासी समस्यामा परेपछि गाउँपालिकाले तत्काल राहतस्वरूप त्रिपाल उपलब्ध गराएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार विपद् लगत्तै प्रहरी, कर्मचारी तथा जनप्रतिनिधिको संयुक्त टोली परिचालन गरी क्षतिको प्रारम्भिक विवरण संकलन गरिएको छ। हालसम्म १९६ जना प्रभावितको तथ्याङ्क संकलन भइसकेको छ ।
हावाहुरीका कारण घर, गोठ, शौचालयलगायतका संरचनामा क्षति पुगेको पाइएको छ। कतिपय परिवारको बसोबासका लागि प्रयोग हुने घरको दुवै पाटोको छाना पूर्ण रूपमा उडाएको छ भने केही घरमा आंशिक क्षति पुगेको छ। यसरी घरमा बस्नै नमिल्ने अवस्था सिर्जना भएपछि प्रभावित परिवार खुला आकाशमुनि बस्न बाध्य भएका थिए।यस्तो कठिन परिस्थितिमा तत्कालका लागि सुरक्षित आश्रयको व्यवस्था गर्न त्रिपाल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

साथै, दीर्घकालीन राहतका लागि पनि गाउँपालिकाले निर्णय गरिसकेको छ। बसोबासयोग्य घरको दुवै पट्टिको छानो उडाएका गरीब, विपन्न, आर्थिक रूपमा कमजोर, एकल महिला तथा असक्त नागरिकलाई प्राथमिकतामा राखी प्रतिपरिवार रु.१० हजारका दरले राहत रकम वितरण गरिने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत निरौलाले जानकारी दिनुभयो।
उहाँका अनुसार वास्तविक पीडित पहिचानका लागि वडा तहबाट सिफारिस संकलन भइरहेको छ । यसैबीच, हावाहुरीका कारण हतुवागढी गाउँपालिकाभित्रका ९ वटा विद्यालय तथा सामुदायिक भवनमा समेत क्षति पुगेको छ।
हावाहुरीबाट प्रभावित स्थानीयवासीले भने तत्काल राहत उपलब्ध गराएकोमा गाउँपालिकाप्रति आभार व्यक्त गरेका छन्। उनीहरूले थप सहयोग र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न माग समेत गरेका छन्।

















