
भोजपुर, २५ मङ्सिर । भोजपुर नगरपालिक –९ काफ्लेमा रहेको जनकल्याण आधारभूत विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिएको छ । विद्यार्थीहरुलाई समय सापक्ष प्रविधिमैत्री शिक्षणमा जोड दिन ई–लर्निङ सेन्टर स्थापना गरिएको हो । इश्वर मन्दिर काठमाण्डौँ अभियानले विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गरिदिएको हो । १० थान डेस्कटप कम्प्युटर, एक थान स्मार्ट टिभी वितरण गरेर यहाँ सेन्टर सञ्चालनमा ल्याएको इश्वर मन्दिर काठमाण्डौँका महासचिव संकेत कोइरालाले जानकारी दिनुभयो ।
ई–लर्निङ सेन्टर स्थापनाले विद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने विद्यालयका प्रधानाध्यापक योगराज लुइटेलले बताउनुभयो । आवश्यकताका आधारमा विद्यालय समय र विद्यालय भन्दा अन्य समयमा पनि समूह निर्माण गरेर प्राविधिमैत्री शिक्षण गराइने उहाँले जानकारी दिनुभयो । “हाम्रो विद्यालयमा ई–लर्निङ सेन्टर स्थापना गर्न सफल भएका छौँ” उहाँले भन्नुभयो,“सेन्टर स्थापनाले विद्यार्थीहरुलाई समय सापक्ष प्रविधिमैत्री शिक्षण गराउन सहज हुनेछ । अव हामीले प्रविधिमैत्री शिक्षणमा जोड दिन्छौँ ।” सवै विद्यार्थीहरुलाई प्रविधि सम्बन्धि ज्ञान प्रदान गर्न समूह निर्माण गरेर शिक्षणमा जोड दिइने उहाँको भनाइ छ ।
विज्ञान र प्रविधिको तीव्र विकासका कारण शिक्षण पद्धति पनि समयअनुसार अद्यावधिक हुनु आवश्यक रहेको पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले बताउनुभयो। डिजिटल प्रविधिको शिक्षण सिकाईमा सहयोग पु¥याउने उद्धेश्यले इश्वर मन्दिर काठमाण्डौँ अभियानले विद्यालयहरुमा सहयोग गर्दै आएको उहाँले बताउनुभयो ।
“हामीले प्रविधिमैत्री शिक्षाको लागि यो अभियान सञ्चालन गरिरहेका छौँ ” पूर्व अर्थमन्त्री कोईरालाले भन्नुभयो,“आजको युग विज्ञान र प्रविधिको युग हो । हामीले पनि शिक्षालाई समय सापक्ष अघि बढाउन आवश्यक छ । दुरदराजमा रहेका विद्यालयलाई प्रविधिसँग जोड्न हामीले अभियान सञ्चालन गरेर आवश्यक प्रोत्साहन गरिरहेका छौँ ।”
इश्वर मन्दिर काठमाण्डौँ अभियान २०५६ सालमा स्थापना गरेर आवश्यक प्रोत्साहन तथा सहयोगका कार्यक्रम गर्दै आएको उहाँले बताउनुभयो ।
ई–लर्निङ स्थापनाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै प्रविधिमैत्री शिक्षणमा सहयोग पुग्ने भोजपुर –९ का वडाध्यक्ष रामबहादुर तामाङले बताउनुभयो ।

















