
खेलकुद क्षेत्रको विकास गर्ने लक्ष्यका साथ भोजपुरमा पाँच दिने फुटबल प्रतियोगिता शुरु भएको छ । भोजपुर नगरपालिका–७ कोदारको मुख्य प्रायोजनमा खुल्ला तेस्रो वडाध्यक्ष कप सुरु भएको हो । यस वर्षको प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् ।
भोजपुर जिल्ला फुटबल संघको संयोजनमा मङ्सिर २३–२७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताबारे जिल्ला प्रशिक्षक तथा फुटबल संघका कोषाध्यक्ष विनम श्रेष्ठले तयारी, व्यवस्थापन र खेलमैदान सुरक्षा यसपटक झनै व्यवस्थित गरिएको जानकारी दिनुभयो ।
खेल क्षेत्रको विकासमा लागि तीन वर्ष अघिदेखि निरन्तर प्रतियोगिता सञ्चालन गर्दै आएको भोजपुर नगरपालिका–७ का वडाध्यक्ष जयबहादुर तामाङले बताउनुभयो । स्थानीयस्तरमा लुकेका प्रतिभालाई पहिचान गर्दै स्वस्थ जीवनशैली फुटबल खेलको प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको उहाँको भनाइ छ ।
आयोजक कोदार फुटबल क्लवका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने द्धितीय हुने टिमले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, तथा उदयीमान खेलाडीको विधामा विशेष पुरस्कारसमेत प्रदान गरिनेछ ।
मंगलबार भएको खेलमा चौतारी फुटबल क्लव, योङ स्टार फुटबल क्लव, गुठा फुटबल क्लव र कोदार फुटबल क्लव क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिताको उद्घाटन भोजपुर नगरपालिका ७ का वडाध्यक्ष जयबहादुर तामाङको अध्यक्षता तथा भोजपुर नगरपालिका मेयर कैलाश कुमार आलेको प्रमुख आतिथ्यतामा गरिएको हो ।



















