उद्यममा जोड्न डिभिजन वन कार्यालयद्धारा वृक्षारोपण तथा किसानलाई फलफूलका विरुवा वितरण


भोजपुर, १५ असार । वन क्षेत्रको विकाससँगै किसानलाई उद्यममा जोड्न भोजपुरमा साढे आठ हजार बढी विरुवा वितरण गरिएको छ । यहाँका किसानहरुलाई आयआर्जनमा जोड्ने लक्ष्यले डिभिजन वन कार्यालयले दाँते ओखर, टिमुर, रुद्राक्षलगायतका विरुवा वितरण गरेको हो । किसानलाई वन उद्यममार्फत आयआर्जनमा जोड्न, तीन हजार दुई सय दाँते ओखर, एक हजार छ सय टिमुर, एक हजार एक सय सतुवा, एक÷एक हजार वटा रुद्राक्ष र तेजपत्ता र पाँच सय ५० वटा लोड सल्लाको विरुवा वितरण गरिएको डिभिजन वन कार्यालयका वन अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । जिल्लाका कृषक, कृषि तथा जडिबुटी फर्म, वन समूह तथा विभिन्न संस्थाहरुलाई मागका आधारमा विरुवा वितरण गरिएको हो ।

हरित क्षेत्रको विकासँगै किसानलाई आर्थिक रुपमासमेत टेवा पु¥याउने लक्ष्यले विभिन्न कार्यक्रममार्फत किसानलाई विरुवा वितरण गरिरहेका अधिकृत अधिकारीको भनाइ छ । दिङ्ला, याकु, बालांखा र भोजपुरमा सञ्चालनमा रहेको नर्सरीबाट असार र साउनमहिनामा ८० हजार विरुवा वितरण गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो । “हामीले वन क्षेत्रको विकाससँगै यसबाट किसानलाई आयआर्जन हुने खालका कार्यक्रममा जोड दिएका छौँ”उहाँले भन्नुभयो,“हामीले हालसम्मका साढे आठ हजार बढी विरुवा वितरण गरिसकेका छौँ । हामीले ८० हजार विरुवा वितरण गर्ने लक्ष्य लिएका छौँ ।”

राष्ट्रिय वृक्षारोपण दिवश २०८२ अवसर पारेर विरुवा रोपन कार्यक्रमसमेत शुरुवात गरिएको कार्यालयले जनाएको छ । स्थानिय सामुदायिक वन उपभोक्ता समूह, वन पैदावार व्यवसायी संघ, सरोकारवाला, संस्थाका प्रतिनिधिहरुको सहभागितामा भोजपुर नगरपालिका ५ मा रहेको भकिम्ले सामुदायिक वनमा बृक्षरोपन गरिएको हो । यो कार्य निरन्तर रुपमा अघि बढाएने कार्यालयको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार