भोजपुरमा सुकुम्बासीको प्रमाणीकरण गर्दै ‘भूमि आयोग’


भोजपुर, ४ असार ।
भोजपुरमा भूमि आयोगले सुकुम्बासीको प्रमाणीकरण काम थालेको छ । यस अघि संकलित तथ्याङ्कको आधारमा आयोगले सुकुम्बासीको प्रमाणीकरण थालेको हो ।
षडानन्द नगरपालिकामा आवेदन परेका ६० जना सुकुम्बासीको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय गरिएको छ । वडास्तरिय सहजीकरण समितिमार्फत आएका ६० जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासीहरुको पालिकास्तरबाट प्रमाणीकरण गर्ने निर्णय भएको भूमी आयोग भोजपुरका अध्यक्ष देवीराम चौलागाइँले जानकारी दिनुभयो ।
सुकुम्बासीको प्रमाणीकरणको लागि पौवादुङमा, हतुवागढी, साल्पासिलिछो र आमचोक गाउँपालिकामा वडास्तरमा सात दिने सूचना प्रकाशन गरिएको अध्यक्ष चौलागाइँको भनाइ छ । पालिकास्तरमा निर्णय भएर आएकाहरुको जिल्लामा पुनः प्रमाणीकरण गरेपछि लालपूर्जा वितरणको काम अघि बढाउने आयोगले जनाएको छ ।
“हामीले वडास्तरबाट सुकुम्बासीको प्रमाणीकरण थालेका छौँ”अध्यक्ष चौलागाइँले भन्नुभयो,“षडानन्द नगरपालिकामा ६० जनाको पालिकास्तरबाट प्रमाणीकरण भएको छ । अन्य पालिकामा पनि काम अघि बढाएका छौँ ।”
भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीलाई लक्ष्य गरेर उनीहरुको तथ्याङ्क संकलन पश्चात वडा तथा पालिकास्तरबाट प्रमाणीकरण थालिएको हो । अन्तिम प्रमाणीकरणमा परेकाहरुलाई राज्यको नियम अनुसारको जग्गा वितरण हुने आयोगले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार