
भोजपुर, २२ माघ । भोजपुरमा पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप अभियान सुरु भएको छ । आजबाट शुरु भएको पहिलो चरणको खोप अभियानको जिल्ला समन्वय समिति प्रमुख कमल थुलुङ र भोजपुुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले शुभारम्भ गर्नु भएको हो ।
अभियान अन्तर्गत जिल्ला आठ हजार ४ सय १९ किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप लगाइनेछ । जिल्लाका नौ वटै स्थानीय तहका विद्यालय जाने र नजाने दश देखि १४ वर्षका किशोरीहरूलाई उक्त खोप लगाउन शुरु गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजुकुमार श्रेष्ठले बताउनुभयो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने दश देखि १४ वर्षसम्मका किशोरीहरूलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने प्रमुख श्रेष्ठको भनाइ छ ।
पहिलो चरण २२ देखी २४ गतेसम्म भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकामा अभियान सञ्चालन हुनेछ भने दोश्रो चरणमा माघ २७ देखी २९ गतेसम्म षडानन्द नगरपालिका, साल्पासिलिछो गाउँपालिका, पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिकामा खोप अभियान सञ्चालन हुने कार्यालयले जनाएको छ ।
खोप कार्यक्रम सञ्चालनको लागि दुई सय २५ खोप केन्द्र निर्धारण गरेर दुई सय २५ जना स्वास्थ्यकर्मी र चार सय ५० जना स्वयम सेवक परिचालन गरिएको स्वास्थ्य कार्यालयका कोल्डचेन मिरिक्षक अधिकृत तार्केश्वर सिंहले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नर बहादुर थापा, जिल्ला प्रहरी कार्यालय भोजपुका प्रमुख युवराज तिमलसिना, भोजपुर नगरपालिकाका प्रमुख प्रशासकीय मुकुन्द राई लगाएतको उपस्थिती रहेको थियो ।