भोजपुरमा खोरेत रोग नियन्त्रण अभियान सञ्चालन गरिदै


भोजपुर, ७ माघ । भोजपुर जिल्लामा खोरेत रोग उन्मुलनको लागि खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लालाई खोरेत रोगमुक्त घोषणा गर्ने लक्ष्यका साथ अभियान सञ्चालनको तयारी थालिएको हो । अभियानमार्फत खोरेत रोग नियन्त्रणको लागि यो वर्ष ८३ हजार बढी पशुलाई खोप लगाईने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भोजपुरका प्रमुख सुन्दरलाल यादवले बताउनुभयो ।

अभियानलाई जिल्लाभर सफल रुपमा सञ्चालनको लागि पहिलो चरणमा जिल्ला प्राविधिक समिति गठन भइसकेको प्रमुख यादवको भनाइ छ । यो कार्यक्रमलाई नौ वटै स्थानीय तहमा सञ्चालनको लागि अव जिल्ला समन्वय समिति प्रमुखको संयोजकत्वमा जिल्लास्तरिय समिति, पालिका प्रमुखको संयोजकत्वमा पालिकास्तरिय स्थानीय आयोजना समिति र वडाध्यक्षको संयोजकत्वमा निग्रानी समिति गठन गरेर तल्लोस्तरसम्म सञ्चालन गरिने उहाँले बताउनुभयो ।

खोरेत रोग सम्वन्धि ८३ हजार ५६३ डोज भ्याक्सिन प्राप्त भएको प्रमुख यादवको भनाइ छ ।“भोजपुर जिल्लामा खोरेत रोग सम्वन्धि अभियान सञ्चालन गर्ने तयारीमा छौँ” प्रमुख यादवले भन्नुभयो,“अहिले हामीले विभिन्न तहको समिति गठन गरेर कामलाई अघि वढाएका छौँ । खोरेत रोग नियन्त्रणको लागि ८३ हजार बढी पशुलाई खोप लगाउने योजना छ ।”

पशुहरुमा खोरेत रोग नरहेको प्रमाणित नगरिँदा मासु तथा पशुजन्य पदार्थको बाहिरी देशमा निकासीको लागि समस्या रहेको उहाँको भनाइ छ । नेपाल सरकारको सन् २०३०सम्म खारेत रोग उन्मुलन गर्ने लक्ष्यलाई पुरा गर्न अभियान सञ्चालन गरिएको प्रमुख यादवले बताउनुभयो । स्थानीयको पशु चौपायाको तथ्याङ्क संकलन पश्चात भ्याक्सिनेटरमार्फत आगामी चैत्र महिना भित्र खोप लगाई सक्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

“खोरेत रोग उन्मुलनको लागि यो कार्यक्रम सञ्चालन भईरहेको छ”उहाँले भन्नुभयो,“हामीले हाम्रा पशु चौपायामा खोरेत रोग छैन भन्ने प्रमाणित गर्न नसक्दा मासुलगायत पशुजन्य वस्तुहरु बाह्य देशमा निकासीमा समस्या छ । खोरेत रोग उन्मुलन गर्ने उद्धेश्यका साथ कार्यक्रम सञ्चालन भईरहेको छ ।”

खोरेतसँगै जिल्लामा पीपीआर भ्याक्सिन एक लाख ३१ हजार १९२, लप्मी स्किनको नौ हजार, बगुरको हैजा रोग नियन्त्रणका लागि क्यासिकल स्वयम फिभर ३७ हजार २१३ र पशुमा देखिने भ्याउते,चरचरे रोगको लागि एक हजार डोज भ्याक्सिन लगाईने कार्यालयका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार