सुनवालुवा-घोडेटार सडक निर्माणमा सहयोग गर्नेलाई हतुवागढीद्धारा सम्मान


भोजपुर, २५ पुस । भोजपुरको हतुवागढी गाउँपालिकाले जनस्तरबाटै १९ किलोमिटर सडक निर्माण गर्ने स्थानीयबासीलाई सम्मान गरेको छ । स्थानीयको अगुवाईमाब्यक्तिगत तथा विभिन्न संघ संस्थाबाट रु.६१ लाख ७६ हजार लागत संकलन गरेर सुन वालुवा – घोडेटार सडक निर्माण गरिएको हो । हतुवागढी क्षेत्रमा सडक विस्तारको लागि स्काभेटर अरुण नदीबाट तारेको १४ वर्ष पुगेको अवसरमा तत्कालिन समयमा सडक निर्माणमा आर्थिक सहयोग गर्ने ३८ जना स्थानीयलाई सम्मान गरिएको हो ।

जनस्तरमा जागरण जुटाएर रु. आठ सयदेखी पाँच लाख ४० हजारसम्म आर्थिक सहयोग गर्ने स्थानीयबासीलाई एक कार्यक्रमका बीच गाउँपालिकाले सम्मान गरेको छ । यो सडक निर्माणको लागि ब्याक्तिगत रुपमा २८ लाख ६४ हजार ९९३ र विभिन्न संघ संस्थाबाट ३३ लाख ११ हजार छ सय रुपैँया लगानी भएको बताइएको छ । सडक विस्तारको स्मरणको लागि घोडेटार बजारमा सडक स्मारक स्तम्भसँगै घोडाको प्रतिमासमेत राखिएको छ । स्मारकमा रहेको शिलालेखमा दाताहरुको नामावली राखिएको छ । सोहि कार्यक्रममा घोडाको प्रतिमाकोसमेत अनावरण गरिएको छ । हतुवागढी गाउँपालिकाको ऐतिहासिकता उजागर गर्दै दाताहरुको सम्मान स्वरुप स्मारक निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो । यहाँ निर्माण गरिएको स्मारकले घोडेटारको ऐतिहासिक विषेशतासँगै अन्य पक्षलाईसमेत समेटेको अध्यक्ष राईको भनाइ छ ।

“विषेश दिन पारेर दाताहरुलाई सम्मानसँगै सडक स्मारकमा घोडाको प्रतिमा अनावरण गरेका छौँ”अध्यक्ष राईले भन्नुभयो,“यसले यहाँको ऐतिहासिकतालाई झल्काउने छ भने यहाँको पर्यटनको पर्वद्धनमा टेवा पुग्ने हामीले अपेक्षा लिएका छौँ । सडक विस्तारमा सहयोग गर्ने दाताहरुको योगदानको पनि कदर हुनेछ ।” कार्यक्रमको अवसरमा सडक निर्माणमा योगदान गर्ने तत्कालिन समितिलाई प्रशंसा पत्रसमेत हस्तान्तरण गरिएको अध्यक्ष राईको भनाइ छ । सडकको कारण समस्या भोगिरहेको अवस्थामा तत्कालिन समयमा ज्यानको प्रवाह नगरी ११ घण्टा लगाएर अरुण नदीबाट स्काभेटर(डोजर) तारिएको दिनको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको अध्यक्ष राईको भनाइ छ । “विकासका निमित्त जनस्तरबाट गरिएको यो साहसिक काम हो”अध्यक्ष राईले भन्नुभयो, “त्यो समयबाट हाम्रो क्षेत्रमा सडक विस्तारको थालनी भएको हो । शुरुको चरणमा नागरिकस्तरबाट खेलिएको भूमिकाको कदर गर्नको लागि उहाँहरुलाई सम्मान गरेका हौँ ।”

गाउँपालिकाले सम्मान पत्रसँगै यो काममा योगदान पु¥याउने दाताहरुको नाम शिलापत्रमा राखेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताउनुभयो । स्थानीय नागरिकले यहाँको विकासमा खेलेको भूमिकाको उच्च मुल्याङ्कन गर्ने लक्ष्यले गाउँपालिकाले सम्मान गरेको उहाँको भनाइ छ । “स्थानीय नागरिकले आफ्नो ठाउँको विकासमा आफैँले पनि भूमिका खेल्न आवश्यक छ”प्रशासकीय अधिकृत निरौलाले भन्नुभयो, “तत्कालिन समयमा स्थानीयले जनस्तरबाट खेलेको भूमिका प्रशंसायोग्य छ । नागरिकले खेलेको भूमिकाको सम्मान स्वरुप उहाँहरुलाई सम्मान गरेका हौँ ।” ग्रामिण सडक विस्तारसम्म नभएको अवस्थामा यहाँ सडक विस्तारको लागि अरुण नदीबाट पहिलो पटक स्काभेटर तारिएको थियो । त्यो समयमा जनस्तरबाट गरिएको कामले भौगोलिक रुपमा निकै विकट मानिने दक्षिणी क्षेत्रमा सडक खनिएको थियो ।

स्थानीयरुले करिव रु.६१ लाख ७६ हजार रकम जम्मा गरेर २०६० सालमा धनकुटा मुगा –सुन वालुवा– होम्ताङ –घोडेटार सडक विस्तार गरेका थिए । जनस्तरबाट संकलन भएको रकमबाट भोजपुर क्षेत्रमा १९ किलोमिटर सडक खनिएको हो । स्थानीयहरुबाट आफ्नो क्षमता अनुसारको संकलन गरेर सडक निर्माण गरिएको तत्कालिन सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष ध्यान बहादुर राउतले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार