पुलिसलाई हराउँदै आर्मी झापा गोल्डकपको सेमिफाइलनमा


झापा २५ फागुन । जर्ज प्रिन्स कार्कीको फ्रि किक गोलको मद्दतमा त्रिभुवन आर्मी क्लब झापामा जारी तेस्रो रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडको डोमालाल राजबंशी रंगशालामा भएको गोल्डकपको आर्मीले नेपाल पुलिस क्लबलाई १−० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ४३ औं मिनेटमा पुलीसका डिफेन्डर अजित भण्डारीले आर्मीका नवयुग श्रेष्ठलाई डि एरिया नजिकै फल गरेका थिए । त्यसपछि प्राप्त फ्रि किकलाई आर्मीका कार्कीले पोष्टको दिशा दिएका थिए । कार्कीले पोष्टको देब्रे बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।

त्यही एकमात्र गोलको मद्दतले त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । सेमीफाइनलमा आर्मीले डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लबसँग प्रतिष्पर्धा गर्नेछ ।

खेल अवधिभर पुलीसले आर्मीलाई दवावमा राखेको थियो । यद्यपी, आक्रमण फितलो बन्दा पुलिसका लागि स्कोर भने हुन सकेको थिएन ।

खेलको १४ औं मिनेटमा पुलीका कप्तान भरत खवासले गरेको हेड पुलिसका गोलरक्षक शत्रुघन चौधरीले पञ्च गरेर फर्काए । त्यस्तै, खेलको १८औँ मिनेटमा पुलिसका दिनेश राजवंशीले फ्लीक गरेको बल फितलो हुँदा आर्मीका गोलकिपर विकेश कुथूले सहजै रोकेका थिए ।

२७औँ मिनेटमा आर्मीका निरकुमार राईले प्रहार पोष्टको केही माथिबाट बाहिरिएको थियो । ३०औँ मिनेटमा पुलिसका रेजिन सुब्बाको हेड पनि बाहिरिएको थियो ।

५९औँ मिनेटमा पुलिसले डिएरिया बाहिरिबाट पाएको फ्रिकिक आर्मीका डिफेन्सले गोललाइनबाट बचाएका थिए । ६५औँ मिनेटमा भरत खवासको क्रस पासमा जर्ज प्रिन्स कार्कीले गरेको हेड पुलिसका गोलकिपर शत्रुघन चौधरीले बचाएका थिए ।

८२औँ मिनेटमा अजित भण्डारीले गरेको हेड बल विकेश कुथुले बचाएका थिए । लगत्तै पुलिसको अर्को प्रहार पनि विकेशले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो । खेलको अतिरिक्त समयमा पदम तामाङले पाएको अवसर गुमाउँदा आर्मी गोलअन्तर बढाउन चुकेको थियो ।

खेलको म्यान अफ द म्याच आर्मीका गोलकर्ता जर्ज प्रिन्स कार्की घोषित भए । उनले नगद २५ हजार रुपैंयाँ पुरस्कार पाए ।

शुक्रबारको खेल रमपम झापा ११ र थ्री स्टार क्लबबीच हुने आयोजकले जनाएको छ ।

खेलपछि पोष्ट म्याच कन्फ्रेन्समा कुरा गर्दै बिजेता टीम आर्मीका प्रशिक्षक चुनबहादुर थापाले आफ्ना केही खेलाडी घाइते भएका कारण अपेक्षित खेल पस्कन नसकेको बताए । खेलमा जित निकाल्नु महत्वपुर्ण हुन्छ, पुलीससँगको जित हाम्रो लागि सहज हो ।

पराजित टीम पुलीसका प्रशिक्षक अनन्त थापाले पुलीसले नयाँ टीम बनाउदै गएको हुनाले आजको प्रदर्शनमा अनुभवको कमी देखिएको बताए । खेलाडीले पाएको अवसर सदुपयोग गर्न नसक्दा हार ब्यहोर्नु परेको उनको भनाइ थियो ।

यसैबीच, गोल्डकपका संस्थापक सदस्य फुर्वा लामा र अन्तर्राष्ट्रिय झापाली समाज अष्ट्रलियाका अध्यक्ष दिनेश पोखरेलको पहलमा गोल्डकपको दोस्रो पुरस्कार स्पोन्सर गरिने भएको छ । गोल्डकप विजेताले नगद १२ लाख ५० हजार र उपविजेताले छ लाख पाउनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार