काठमाडौं, ११ पुस । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तामाकोशी आयोजना पुरा भएपछि वर्षाको अफ पिक आवरमा विजुली खेर जाने बताएका छन् ।
ग्लोबल वाटर पार्टनरसिप र जलस्रोत विकास संस्थाले शुक्रबार राजधानीमा गरेको १८ औं वार्षिक साधारणसभामा आयोजित आख्यानमाला ९लेक्चर सेरिज मा विशेष अतिथिको रूपमा उपस्थित निर्देशक घिसिङले यस्तो जानकारी दिएका हुन् । तर उनले भने, ‘हिउँदको पिक आवरमा भने अझै ५ वर्ष अपुग हुने बताएका हुन् ।’
देशभित्रको आन्तरिक स्रोत जुटाएर विद्युत प्राधिकरणले निर्माण गरिरहेको तामाकोशी आयोजनाले एक वर्षभित्र विद्युत उत्पादन गर्ने गरी कामअघि बढाएको छ । यो आयोजनाको ४५६ मेगावाट विद्युत उत्पादन हुन्छ । हाल नेपालमा १ हजार २८० मेगावाट विजुलीको माग रहेको छ । स्वेदशमा ५८६ मेगावाट भएपनि हिँउदमा भने यो उत्पादन घटेर ४२०मा झर्छ। नेपालमा रन अफ रिभर प्रविधिबाट विद्युत उत्पादन हुदै आएको छ। देशभर लोडसेडिङ हट्नु पछिको कारण भारतबाट गरिने आयात हो। भारतबाट हाल ३९२ मेगावाट विद्युत ल्याएपनि यो बढेर ४७० मेगावाट पुग्ने छ ।
तामाकोसी आयोजनाको लागत ३५ अर्ब ३० करोड रुपैयाँ छ। कर्मचारी सञ्चय कोषको १० अर्ब रुपैयाँ, नेपाल टेलिकमको ६ अर्ब रुपैयाँ, नागरिक लगानी कोषको दुई अर्ब रुपैयाँ र राष्ट्रिय बीमा संस्थानको दुई अर्ब रुपैयाँ लगानी छ । आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई दिनुपर्ने शेयर चुनावलगत्तै निष्कासनको तयारी गरेको छ । त्यसमा क, ख र ग वर्गमा विभाजन गरी जिल्लावासीलाई शेयर वितरण गरिनेछ ।
सो कार्यक्रममा घिसिङले लाङटाङको पानी काठमाडौंमा ल्याउनेदेखि छिमेकी राष्ट्र चीनलाई बिजुली बेच्नेसम्म योजना सुनाए ।
सरकारका अधिकांश पूर्वसचिव, जलस्रोतविद्लगायत सहभागी कार्यक्रममा उनले भने, “रसुवाको लाङटाङमा जलाशययुक्त आयोजना निर्माण गरेर त्यो पानी २१ किलोमिटर सुरुङमार्फत हेलम्बुमा ल्याएर त्यहाँ पनि ४ सय मेगावाट बिजुली निकालेर काठमाडौंवासीलाई स्वच्छ खानेपानी दिन सकिन्छ ।”
छिमेकी राष्ट्र चीनले तिब्बतदेखि केरुङसम्म ५०० केभीको २ हजार किलोमिटर लामो प्रसारणलाइन नेपालकै लागि बनाउन लागेको र केरुङमा सवस्टेसन बनाइ ४०० केभीमा नेपालसम्म ल्याउने योजनाका साथ काम अघि बढेको उनको भनाइ छ ।
“केरुङबाट रसुवागढी हुँदै २५० किलोमिटरमा गल्छीसम्म ल्याउने गरी योजना अघि बढेको छ,” उनले भने, “चीन भ्रमणको क्रममा उनीहरूले त्यो लाइनमार्फत नेपाललाई १५ सय मेगावाट बिजुली दिन तयार रहेको बताएका छन्, नेपालले दिएमा किन पनि तयार रहेको बताएका छन् ।” उनले चीनका अन्य प्रदेशमा बिजुली आवश्यक रहेको र लक्ष्यअनुसार उत्पादन बढाउन सकेमा हामीले भोलि चीनलाई बिजुली बेच्न सक्ने सम्भावना पनि रहन्छ । गत वर्षामा भारतलाई ५ करोड बराबरको बिजुली नेपालले बेचेको र हाल भारतबाट ३ सय ७२ मेगावाट आयात गरिरहेको भन्दै उनले भारतसँग इनर्जी बैंकिङको लागि छलफल अघि बढाएको पनि सुनाए ।
“बजार भयो भने नेपालले डेढ(दुई लाख मेगावाटसम्म विद्युत् उत्पादन गर्न सक्ने क्षमता छ, हाम्रो लागि भारत र वंगलादेश पनि राम्रो बजार हुन्,” उनले भने, “यसका लागि विजुली बिक्रीका लागि खुला बजार बनाउन भने आवश्यक छ ।”
उनले भारतसँग बुटवल–गोरखपुरबाहेक नै थप दुई अन्तरदेशीय प्रसारणलाइनको लागि छलफल अघि बढेको उल्लेख गर्दै विद्युत् प्राधिकरणले आगामी दिनमा ४ सय केभीभन्दा ठूला प्रसारणलाइन मात्र बनाइने बताए । छलफलमा उनले स्मार्ट मिटर, ग्रिड सिष्टम, चार्जिङ स्टेसनहरूको प्रवद्र्धन, सवस्टेसनमा स्टोरेज ब्याट्री वितरण प्रणालीको व्यापक सुधारलगायतका योजना अघि बढाउन लागेको जानकारी दिएका थिए ।