
भोजपुर, ३१ असार । भोजपरको हतुवागढी गाउँपालिकाको आर्थिक बर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधि सम्मको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बुधबार गाउँपालिका केन्द्र घोडेटारमा कार्यक्रम सम्पन्न भएको हो । तेस्रो चौमासिक अवधिसम्म गाउँपालिकामा भएका गतिवधिको विषयमा स्थानीय नागरिक तथा सरोकावाल पक्षलाई जानकारी गराउने उद्धेश्यले कार्यक्रम गरिएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रम मार्फत प्रमुख प्रशासकिय अधिकृत महेश निरौलाले गाउँपालिकाले यो अवधिसम्म गरेका काम, गाउँपालिकामा सञ्चालित योजना, नीतिगत निर्णय तथा हालसम्मको प्रगतिको विषयमा प्रतिवेदन पेश गर्नुभयो । यस आर्थिक बर्षमा कुल ७८.५४ प्रतिशत योजनाको काम सम्पन्न भएर खर्च भईसकेको उहाँको भनाइ छ ।
सार्वजनिक सुनुवाईकार्यक्रम मार्फत गाउँपालिकाले सञ्चालन गरेका योजना तथा कार्यक्रमको बारेमा जानकारी गराईएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनुभयो। कार्यक्रममा स्थानीय नागरिकले उठाएका सवालको जबाफ दिदै अध्यक्ष राईले गाउँपालिकाले यहाँको सबै क्षेत्रको विकासका लागि योजनाबद्ध रुपमा काम गरिएको बताउनुभयो । खास गरे गाउँपालिका ठूला योजना सञ्चालनमा जोड दिएको अध्यक्ष राईले बताउनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता राई, वडाअध्यक्षहरु, स्थानिय नागरिक लगाएत सरोकावाला पक्षको सहभागिता रहेको थियो ।























