पौवादुङमा पाचौँ भोजपुर ट्रेल रेस सम्पन्न, ५० किलोमिटरमा उमेश र निकी बने प्रथम


भोजपुर, १३ चैत ।
विश्व आल्ट्रा धावक मिरा राईको सम्मानमा भोजपुरको पौवादुङमा गाउँपालिकामा ट्रेल रेस सम्पन्न भएको छ । विगतका वर्षबाट हुँदै आएको भोजपुर ट्रेल रेसको पाचौँ सस्करणबाट नयाँ खेलाडी उत्पादनको लक्ष्यले सञ्चालन गरिएको हो ।
पौवादुङमा गाउँपालिकाको सानोदुम्माबाट शुरु भएको भोजपुर ट्रेल रेस ५० किलोमिटरमा गराइएको हो । प्रतियोगितामा भोजपुर आमचोकका उमेश राई प्रथम भएका छन् । त्यस्तै रुकुमका दुर्गराज बुढा द्धितिय र सोलुखुम्बुका सुमन राई तृतिय बनेको आयोजकले जनाएको छ ।


प्रतियोगितामा प्रथम हुनेले ६ घण्टा ३० मिनेट ४७ सेकेन्ड, द्धितियले ६ घण्टा ५० मिनेट ३० सेकेन्ड, तृतियले ६ घण्टा ५६ मिनेट २४ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए । त्यस्तै चौथो हुने रमेश लिम्वुले ७ घण्टा ३१ मिनेट ५३ सेकेन्ड र पाचौँ हुने भिम गुरुङले ७ घण्टा ३८ मिनेट ३४ सेकेन्डमा निर्धारित दुरी पार गरेका थिए ।
त्यस्तै ५० किलोमिटर महिला तर्फ ९ घण्टा १७ मिनेट १७ सेकेन्डमा निर्धारित दुरी पार गर्दै निकि लिम्वु प्रथम , ९ घण्टा १७ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै आश्मा विक द्धितिय र ९ घण्टा ३३ मिनेट २२ सेकेन्डमा दुरी पार गर्दै जुलिन राई तृतिय बनिन् ।
१० किलोमिटर तर्फ ४० मिनेट ६ सेकेन्डमा निर्धातिर दुरी पुरा गर्दै विवश लिम्वु प्रथम, ४० मिनेट ११ सेकेन्डमा दुरी पार गर्दै नविन तामाङ द्धितिय, ४७ मिनेट ८ सेकेन्डमा दुरी पार गर्दै बसन्त राई तृतिय र ४७ मिनेट ३१ सेकेन्डमा दुरी पार गर्दै इप्सन राई चौथो बनेको आयोजकले जनाएको छ ।


त्यसैगरी महिला तर्फ ५१ मिनेट ४६ सेकेन्डमा दुरीपार गर्दै छेम्वीमाया राई प्रथम, १ घण्टा ३ मिनेट ११ सेकेन्डमा दुरीपार गर्दै अमृता कटुवाल द्धितिय, १ घण्टा ५ मिनेट ४ सेकेन्डमा दुरी पार गर्दै कावावुङ राई तृतिय र १ घण्टा ७ मिनेट १८ सेकेन्ट दुरी पार गर्दै रिता राई सान्तवा बनेकी छिन् ।
मिराराई फाउन्डेसनको आयोजनामा भएको कार्यक्रम पौवादुङमा गाउँपालिका र प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सम्पन्न गरिएको फाउन्डेसनका सचिव केशर राईले जानकारी दिए । प्रतियोगितामा तीन सय जनाको सहभागिता रहेको सविच राईले बताए ।


कार्यक्रमका प्रमुख अथितिसमेत रहेका पौवादुङमा गाउँपालिका अध्यक्ष किरण राईले खेल क्षेत्रको विकासमा स्थानीय सरकारले ध्यान दिएर लागेको बताए । पौवादुङमा गाउँपालिकासँगै देशको नाम विश्वमा चिनाउने अन्य मिरा राई जन्माउन खेल क्षेत्रमा लगानी गर्न कुनै पनि कसुर बाँकी नराख्ने अध्यक्ष राईको भनाइ छ ।
अध्यक्ष राईले भने‘गाउँपालिकाले मिरा राईको सम्मानको खातिर विभिन्न काम गरिरहेको छ । स्थानीय तह निर्वाचन नजिकिदै गरेको अवस्था छ । तोकिएको मितिमा निर्वाचन भयो भने अथवा कुनै कारण निर्वाचन भएन र हामीले बजेट ल्याउने खण्ड भएमा छैटौँ सस्करण भव्य रुपमा गाउँपालिकाको आयोजनामा सञ्चालन हुनेछ । खेलाडीहरुलाई व्यवसायिक भएर बाच्न सक्ने वातावरण राज्यको तहबाट निर्माण गराउन भूमिका खेल्नु पर्ने अवस्था छ । अबका दिनमा अन्य जिल्ला, देशसँगै अन्तराष्ट्रियस्तरबाट खेलाडी आउने खालको खेल वातावरण पौवादुङमामा निर्माण गर्ने मेरो लक्ष्य छ । जसको लागि त्यस अनुसारको भौतिक संरचनाहरु पनि निर्माण गरिरहेका छौँ । ’
गाउँपालिकाले मिरा राईको सम्मानमा मिराराई अन्तराष्ट्रिय रंगशाला निर्माण गरिरहेको स्मरण गराउदै अध्यक्ष राईले भने,‘हामीले मिराराई फाउन्डेसनसँगको सहकार्यमा विभिन्न काम गरिरहेका छौँ । आगामी दिनमा गाउँपालिकाले थप गतिविधिलाई बढाउनको लागि भूमिका खेल्ने छ । हामी सबै एकजुट भएर यस्ता काममा आगाडी बढ्न आवश्यक छ ।’ गाउँपालिकाले भोजपुर टे«ल रेस सम्पन्न गराउनको लागि रु. दुई लाख बजेट विनियोजन गरेको थियो ।


प्रतियोगितालाई आवश्यक पर्ने प्राविधिक सहयोग रिमाचुङ एजुकेशन एण्ड स्पोर्टस एकाडेमीले गरेको थियो । प्रतियोगितामा नयाँ खेलाडी उत्पादन गर्ने, मानिसलाई स्वास्थ्य राख्न प्रोत्साहन गर्ने साथै यहाँ रहेको सास्कृतिक, भाषिक भौगोलिक विविधतालाई देशभर फैलाउन आदान प्रदान गर्ने मुख्य लक्ष्यले आयोजना गरिएको रिमाचुङ एजुकेशन एण्ड स्पोर्ट एकेडेमीका अध्यक्ष पावीहाङ राईले बताए । अध्यक्ष राईले भने‘ मुख्य त देशको नाममा विश्वमा चिनाउने मिरा राईको सम्मानको लागि कार्यक्रम आयोजना गरिएको हो । योसँगै नयाँ खेलाडी उत्पादन संस्कार सस्कृतको आदान प्रदान गराउने पनि उद्धेश्य हो ।’’


रिमाचुङ एजुकेशन एण्ड स्पोर्ट एकेडेमी, लेक साइट भ्यूज र भोजपुर रनले पाचौँ चेक पोइन्टको निर्माण गरेको उनले जानकारी दिए । यो व्यवस्थापनको लागि वन पैदावर संघ भोजपुर तथा अन्य व्यक्तिहरुले आर्थिक सहयोग गरेको अध्यक्ष राईले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार