काठमाडौं १४ पौष ।
यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आगामी ८ चैतदेखि सञ्चालन गर्नेगरी बुधबार तालिका सार्वजनिक गरिएको छ ।
विद्यालय तहको अन्तिम परीक्षा भनेर चिनिने एसईईको नियमित, एक्जाम्प्टेड तथा प्राविधिकतर्फको परीक्षा ८ देखि २० चैतसम्म सञ्चालन हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । परीक्षा प्रणाली विगतका वर्षको झैं ‘ग्रेड’मा हुने र यसमा कुनै फेरबदल नगरिएको पनि नियन्त्रक उनले प्रस्ट पारे ।
नियमित र एक्जाम्प्टेडका साथै संस्कृत र प्राविधिकतर्फको परीक्षाका दिन भने फरक मितिमा राखिएको छ । अनिवार्य तर्फ अंग्रेजी, नेपाली, गणित, विज्ञान, सामाजिक अध्ययन र स्वास्स्य, जनसंख्या र वातावरण शिक्षा रहेका छन् भने अन्य विषय ऐच्छिक छन् ।
गैरनेपाली विद्यार्थीको हकमा अन्य नियमित विषय समान भए पनि ‘इलेक्टिभ इंग्लिस’ अर्थात् अंग्रेजी विषयको परीक्षा दिनुपर्ने हुन्छ । वेद विद्याश्रमतर्फ संस्कृत शिक्षा अध्ययन गरेका विद्यार्थीको हकमा अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य संस्कृत व्याकरण तथा अनुवाद, वेद वा नीति शास्त्र र कर्मकाण्ड वा फलित ज्योतिष विषयको अलग परीक्षा दिनुपर्नेछ ।
विद्यालय तहको पढाइ सक्दानसक्दै प्राविधिक विषयका मध्यमस्तरका जनशक्ति उत्पादन गर्ने उद्देश्यले पा“च वर्षदेखि २ सय ७५ निर्वाचन क्षेत्रमा कृषि तथा पशु विज्ञान, संगीत, कम्प्युटर विज्ञान, सिभिल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ पढाइ हुँदै आएको छ । जसअनुसार १४ चैतमा फार्म मेनेजमेन्ट एन्ड मार्केटिङ, इन्जिनियरिङ, चित्रकला, कम्प्युटर रिपियर एन्ड मेन्टेनेन्स र बेसिक म्युजिक परीक्षा हुँदै छ ।
सोही विषयअनुसारको प्राविधिक एसईई परीक्षा १४ देखि २० चैतसम्म हुन लागेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यस वर्ष करिब साढे ६ लाख विद्यार्थी परीक्षामा सहभागी हुदै छन् ।