पौवादुङमाको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक कालोपत्र


युवराज विष्ट
भोजपुर, ८ कात्तिक ।
भोजपुरको पौवादुङमा गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत तिवारीभञ्याङ–अधेँरीघाट पञ्चकन्या कृषि सडकको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ। भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म कालोपत्र गरिएको हो।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले तिवारीभञ्याङ–अधेँरीघाटसम्मको ३१ किलोमिटर सडकखण्डमध्ये हालसम्म तीन किलोमिटर कालोपत्र सम्पन्न भएको बताउनुभयो । संघीय समपुरक अन्तर्गत गाउँपालिकाको बजेटमा सडक कालोपत्र गरिएको उहाँको भनाइ छ ।
“यो सडक खण्डको तीन किलोमिटर कालोपत्र सम्पन्न भएको छ,” उहाँले भन्नुभयो, “यस आर्थिक वर्षमा थप कालोपत्रका लागि पनि बोलपत्र आह्वान भइसकेको छ।”
गाउँपालिकाका अध्यक्ष किरण राईले यो सडकलाई गाउँपालिकाको गौरवको आयोजनाका रूपमा अघि बढाइएकाले यसको गुणस्तर र निरन्तरतामा विशेष ध्यान दिइएको बताउनुभयो। यो सडक भोजपुरबासीलाई तराईका जिल्लासँग जोड्ने छोटोमार्ग भएकाले प्राथमिकताका साथ कालोपत्रको काम थालिएको अध्यक्ष राईको भनाइ छ ।
“यो हाम्रो गाउँपालिकाको गौरवको आयोजना हो”अध्यक्ष राईले भन्नुभयो,“ यो सडक भोजपुरलाई तराईका जिल्लासँग जोड्ने छोटो मार्ग पनि हो ।हाल तीन किलोमिटर कालोपत्र भइसकेको छ । बाँकी अधेँरीघाटसम्मका सबै ३१ किलोमिटर सडक कालोपत्र गर्ने हाम्रो लक्ष्य छ। गाउँपालिकाको सीमित बजेटमा पनि दुई वर्षअघिबाट निरन्तर कालोपत्रको काम गरिरहेका छौँ ।”
सडक कालोपत्रपछि स्थानीयमा उत्साह बढेको वडा नं.– ३ च्याङ्ग्रेकी सावित्रा खत्रीले बताउनुभयो । सडक कालोपत्र बनेपछि आवतजावतमा सहजता भएको उहाँको भनाइ छ ।
“तिवारीभञ्याङदेखि च्याङ्ग्रेसम्म कालोपत्र होला भन्ने हामीलाई लागेको थिएन”उहाँले भन्नुभयो,“अहिले सडक कालोपत्र बन्दा खुसी लागेको छ । आवतजावत सहज बनेको छ । हामी निकै खुसी छौँ।”
गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईका अनुसार यो सडक प्रिमिक्स प्राविधिमा निर्माण भइरहेको छ । नालीसहितको ८ मिटर चौडाइ भएको यो सडकले स्थानीय यातायात र व्यापारिक गतिविधिलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। यो सडकले पौवादुङमाका छ मध्ये पाँच वटा वडालाई समेटेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार