
भोजपुर, ४ कात्तिक । भोजपुरको रामप्रसादराई गाउँपालिका–३ भुल्केका १०७ सय परिवार विद्यत्को केन्द्रीय प्रसारण लाईन विस्तार गरिएको छ । वडाको सक्रियतामा यहाँका केन्द्रीय विद्युत् विस्तार गरिएको हो ।
स्थानीयस्तरमा सञ्चालन भएको बेहेश्वर जलविद्युत आयोजनामा चट्याङका कारण क्षति पुगेपछि स्थानीय अन्धकारमा बस्दै आएका थिए । असोज १९, २० र २१ गतेका निरन्तरको वर्षातसगै परेको चट्याङका कारण जलविद्युत आयोजनाको मेसिन जलेर बिग्रिएपछि सम्पूर्ण बस्तीमा विद्युत सेवा ठप्प भएको थियो ।
स्थानीयस्तरमा वितरण गरिएको विद्युतमा समस्या आएपछि वडाको पहलमा केन्द्रीय विद्युत विस्तार गर्न सफल भएको वडाध्यक्ष रामु थापा मगरले जानकारी दिनुभयो । यहाँका ८८ जना गरिव तथा विपन्न परिवारलाई वडाबाट मिटरसमेत वितरण गरिएको उहाँले बताउनुभयो ।
“यहाँ १०७ परिवारमा केन्द्रीय विद्युत् विस्तार गरेका छौँ”वडाध्यक्ष थापामगरले भन्नुभयो,“स्थानीय जलविद्युतमा क्षति पुगेपछि स्थानीय अन्धकारमा बस्न बाध्य दिए । अहिले सहजता थपिएको छ ।
विगतको विद्युत सेवा अवरोध भएपछि अन्धकार बनेको बस्तीमा पाँच दिनभित्रै केन्द्रीय लाइन विस्तार कार्य सम्पन्न गरिएको हो । उहाँले विद्युत विस्तारका क्रममा सहयोग प्रदान गर्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र भोजपुरका प्रमुख, पूर्व मन्त्री सुदन किराँती, स्थानीय जनप्रतिनिधिहरु तथा स्थानीयवासी सबैप्रति आभार प्रकट गर्नुभएको छ ।
केन्द्रीय विद्युत सेवाको विस्तारपछि अन्धकारमा बस्दै आएका स्थानीयहरू खुसी भएका छन् । विद्युत विस्तारसँगै भुल्के बस्तीका घरधुरीमा उज्यालो फर्किएपछि स्थानीयले वडाप्रति धन्यवाद व्यक्त गरेका छन् ।

















