
युवराज विष्ट
भोजपुर, ३ कात्तिक .
भोजपुर नगरपालिका–५ बोखिमका किसानलाई नौ हजार किलोग्राम उन्नत जातको आलुको बीउ वितरण गरिएको छ । स्थानीयस्तरमा उत्पादन हुँदै आएको आलुमा रोग र किराको संक्रमण बढेपछि वडाले किसानलाई प्रोत्साहन गर्न बीउ वितरण गरेको हो ।
वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार बोखिमका करिब ३५० भन्दा बढी किसानलाई मागको आधारमा काभ्रेबाट ल्याइएको आलुको बीउ ५० प्रतिशत अनुदानमा वितरण गरिएको हो ।
“हामीले किसानको मागअनुसार नौ हजार केजी उन्नत जातको आलु वितरण गरेका छौँ,” वडाध्यक्ष प्रधानले भन्नुभयो,“स्थानीय बीउमा रोग र किराको समस्या बढेपछि उत्पादनमा गिरावट आएको अवस्था छ। त्यसैले किसानलाई नयाँ जातको बीउ प्रयोग गरेर उत्पादन बढाउने लक्ष्य राखेका छौँ ।”
वडाले यसअघि पनि तरकारी तथा फलफूल उत्पादनमा आवद्ध किसानलाई विभिन्न कार्यक्रममार्फत प्राविधिक सहयोग गर्दै आएको जनाएको छ । उन्नत बीउ वितरणसँगै किसानलाई रोग व्यवस्थापन, मलको प्रयोग र भण्डारण प्रविधिबारे प्रशिक्षण दिने तयारीसमेत वडाले गरेको छ ।
विगतमा खेती गरिरहेको आलुमा रोगको संक्रमण बढेको अवस्थामा उन्नत जातको बीउ पाउँदा खुसी लागेको स्थानीय किसान गणेश कुमार विकले बताउनुभयो । आलुमा भण्डारणको क्रममा किरा पर्ने समस्या रहेकोले नयाँ बीउ लगाएपछि त्यो रोगबाटमुक्त हुने आशा रहेको उहाँले बताउनुभयो ।
“हाम्रो गाउँमा हरेक घरमा आलु खेती हुन्छ” उहाँले भन्नुभयो,“तर रोगले गर्दा उत्पादन घटेको थियो । नयाँ बीउ लगाउँदा उत्पादन राम्रो हुने र किरा कम हुने आशा गरेका छौँ ।”
बोखिम क्षेत्रमा अधिकांश किसान आलु, मकै र तरकारी खेतीमा निर्भर छन् । यहाँको उचाइका कारण आलु खेती उपयुक्त भए पनि गुणस्तरीय बीउ र कीरा नियन्त्रणको ज्ञान अभावमा किसानले समस्या भोग्दै आएका छन् ।
तस्बिर पनि छ ।
















