बयालिस रोपनीमा अकबरे खुर्सानी खेती : ठंगजीतको वार्षिक आम्दानी ५५ लाख !


युवराज विष्ट
भोजपुर, २ कात्तिक ।
भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका युवा ठंगजीत राईले व्यावसायिक खुर्सानी खेतीबाट वार्षिक ५५लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आउनु भएको छ । आफ्नै गाउँमा कृषि कर्मबाट उद्यमी बन्ने लक्ष्यका साथ उहाँले ४२ रोपनी क्षेत्रमा करिब ३२ हजार बोट खुर्सानी खेती गर्नुभएको हो ।
आफ्नै ठाउँमा कृषि कर्म गरेर उदाहरणीय बन्ने उद्देश्यले व्यावसायिक खुर्सानी खेतीमा जुटेको राईले बताउनुभयो । करिब आठ वर्षअघि बाट मौसमी र बेमौसमी दुवै प्रकारका खुर्सानी खेती गर्दै आउनु भएका उहाँ जिल्लाका परिचित खुर्सानी किसान हुनुहुन्छ ।
“खुर्सानी खेतीबाट वार्षिक रु. ५५ देखी ६० लाख आम्दानी गर्छु,” किसान राईले भन्नुभयो, “४२ रोपनी जग्गा लिजमा लिएर ३२ हजार हाराहारी बोट लगाएको छु । गत वर्ष पनि रु. ५० लाख बढीको आम्दानी गरेको थिए ।”

खुर्सानी खेतीका लागि उहाँले वार्षिक दुई लाख रुपैयाँ तिरेर ६५ रोपनी जग्गा लिजमा लिएको बताउनुभयो । यस वर्ष खेतीका लागि करिब १२ लाख रुपैयाँ लगानी गरिएको उहाँको भनाइ छ । युवाहरूमा विदेशप्रतिको मोह बढिरहेको समयमा आफूले भने आफ्नै बारीमा व्यावसायिक रूपमा कृषि कर्म गरिरहेको उहाँले बताउनुभयो ।
विभिन्न तीन ठाउँमा जग्गा व्यावस्थापन गरेर खेती गर्दै आउनुभएका राईले हाल चार जनालाई रोजगारीसमेत दिनुभएको छ । सडक पहुँच राम्रो भएकाले उत्पादन भएको खुर्सानी घरमै बिक्री गर्न सहज भएको उहाँको भनाइ छ ।
पौवादुङमामा उत्पादन भएको खुर्सानी धरान, इटहरी, विराटनगर, झापा र काठमाण्डौसम्म बिक्रीका लागि पठाइने गरेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताउनुभयो । खुर्सानी खेती अहिले गाउँपालिकाको मुख्य आम्दानीको श्रोत बनेको उहाँको भनाइ छ ।
किसानलाई व्यावसायिक योजनाका आधारमा सहयोगका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । “अकबरे खुर्सानी हाम्रो गाउँपालिकाको प्रमुख आम्दानीको श्रोत बनेको छ,” अध्यक्ष राईले भन्नुभयो, “हामीले कृषि क्षेत्रमा लगानी बढाउँदै भूगोल सुहाउँदो खेतीमा जोड दिएका छौँ ।”

गाउँपालिकाले कृषि एम्बुलेन्स खरिद गरेर स्थानीय उत्पादनको बजारीकरणमासमेत सहयोग पु¥याउँदै आएको छ । खुर्सानी खेतीको विस्तारका लागि गत आर्थिक वर्षमा गाउँपालिकाले ७५० किसानलाई करिब ७० लाख रुपैयाँ बराबरको मल्चिङ प्लास्टिकलगायतका कृषि सामग्री वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिनुभयो ।
गाउँपालिकाले सञ्चालन गरेको सहयोगात्मक कार्यक्रमका कारण यस वर्ष खेती विस्तार बढेको उहाँको भनाइ छ । अहिले पौवादुङमामा करिब पाँच सय हेक्टर क्षेत्रमा करिब नौ सय किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार