
भोजपुर, २२ भदौ । ग्रामिण भेगमा साइबर सुरक्षा र डिजिटल साक्षरताको प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको अरुण गाउँपालिका–४ फालिटारमा कार्यालय स्थापना गरिएको छ। नेपाल प्रहरीका पूर्व एआईजी भीम ढकालको पहलमा सूचना प्रविधिसम्बन्धी काम गर्ने ‘जेनेस’ कार्यालय सञ्चालनमा आएको हो।
कार्यालयले इन्टरनेटमार्फत आयआर्जन, रोजगारी सृजना र डिजिटल सचेतना फैलाउने लक्ष्य लिएको छ। पूर्व एआईजी ढकालका अनुसार आफ्नो जन्मथलोमा सूचना प्रविधिको विकास गर्दै अरुणलाई भोजपुरको ‘आईटी हब’ बनाउने उद्देश्य लिइएको हो। यो कार्यालय लन्डन मुख्यालय भएको जेनेस बहुराष्ट्रिय कम्पनीको सहकार्यमा सञ्चालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो।
उहाँका अनुसार पछिल्लो समय इन्टरनेटमार्फत हुने आपराधिक गतिविधि न्यूनिकरणमा टेवा पु¥याउने र दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने लक्ष्यका साथ कार्यालय स्थापना गरिएको हो। करिब चार महिनाको तयारीपछि सञ्चालनमा ल्याइएको यस कार्यालयमार्फत स्थानीय युवायुवतीलाई इन्टरनेट प्रयोग, साइबर सुरक्षा, अनलाइन रोजगारी, ई–कमर्स र डिजिटल बजारबारे तालिम दिइनेछ। हालसम्म तालिम लिएका तीन जनालाई रोजगारीसमेत प्रदान गरिएको छ।
कार्यालयबाट डिजिटल साक्षरता, साइबर सुरक्षा, ई–कमर्स, अनलाइन बजार प्रवद्र्धन तथा दैनिक इन्टरनेटसम्बन्धी सेवामा आवश्यक सहयोग उपलब्ध गराइनेछ। विशेषगरी गाउँका युवालाई प्रविधिको सही प्रयोगमार्फत आत्मनिर्भर बनाउन सकिने अपेक्षा गरिएको छ।
कार्यालय उद्घाटन कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलास कुमार आले, टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सारोज बस्नेत, अरुण गाउँपालिका अध्यक्ष सालिकराम खत्री, उपाध्यक्ष विनिता ढकाल, जिल्ला स्थायी सुरक्षा निकायका प्रमुखलगायत सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागीता रहेको थियो।