
भोजपुर, २५ चैत । भोजपुरको पौवादुङमा गाउँपालिकाले कोशी प्रदेशका खेलाडीलाई स्वागत तथा सम्मान गरेको छ । पहिलो पटक जिल्लामा सञ्चालन भईरहेको ‘मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’मा सहभागि हुनआएका टिम म्यानेजर, टिम क्याप्टेन खेलाडीलाई गाउँपालिकाले स्वागत तथा सम्मान गरेको हो ।
खेलाडीलाई हौसला प्रदानसँगै खेल तथा खेलको विकासका लागि अवका दिनमा कसरी काम गर्न सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तरक्रिया गर्ने लक्ष्यले कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । कार्यक्रममा बोल्दै उहाँले खेल क्षेत्रको विकासको लागि गाउँपालिका सकेको सहयोग गर्न तयार रहेकोसमेत बताउनुभयो । आफू पनि पूर्व खेलाडी भएकोले खेल क्षेत्रको विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक काम गरिरहेको अध्यक्ष राईको भनाइ छ ।
“प्रशिक्षक तथा खेलाडीहरुसँग चिनजान गर्ने उद्धेश्यले यो कार्यक्रम आयोजना गरेका हौँ”अध्यक्ष राईले भन्नुभयो,“म आफु पनि पूर्व खेलाडी भएकाले खेल क्षेत्रको विकासका लागि आवश्यक काम गरिरहेको छु । कोशी प्रदेशका खेलाडी हाम्रो जिल्लामा आएको अवसरमा उहाँहरुलाई स्वागत सम्मान गर्न पाउँदा खुसी लागेको छ ।”
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष मक्कर खड्का, सचिव एक्सन राई, नेपाल भलिबल संघ कोशी प्रदेशका अध्यक्ष, प्रशिक्षक, खेलाडीहरुको सहभागिता रहेको थियो ।


















