भोजपुर, ९ मंसिर । भोजपुरमा दशौँ उद्योग दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय टक्सार भोजपुरको आयोजनामा अन्तरक्रिया कार्यक्रम गरिएको हो । ‘उद्यमशिल संस्कृति, राष्ट्रको समृद्धि’ भन्ने मुल नाराका साथ गरिएको अन्तरक्रिया कार्यक्रममा उद्यमी तथा सरोकारवाला पक्षको उपस्थिति रहेको थियो ।
दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय भोजपुरका प्रमुख रमेश ढकालले कार्यक्रमको उद्धेश्यसँगै हालको जिल्लाको उद्योगको अवस्था तथा कार्यालयको तर्फबाट उद्योग क्षेत्रको विकासमा भइरहेको कामको बारेमा जानकारी दिनुभयो । उहाँले हालसम्म जिल्लामा तीन हजार ५५३ वटा विभिन्न प्रकृतिका उद्योग दर्ता रहेकोसमेत जानकारी दिनुभयो ।
जिल्लामा उर्जामूलक एक वटा, उत्पादनमूलक ४०६ वटा, कृषि तथा वन पैदावरमा आधारित दुई हजार १७८ वटा,पर्यटन १९४ वटा, सूचना प्रविधि संचार तथा सूचना प्रसारण प्रविधिमा आधारित १८ वटा र सेवामूलक ७५६ गरी तीन हजार ५५३ वटा उद्योग दर्ता रहेको प्रमुख ढकालले अन्तरक्रिया कार्यक्रममार्फत जानकारी गराउनुभयो । यी उद्योगहरुको विकास तथा विस्तारको क्षेत्रमा कार्यालयले योजनाबद्ध रुपमा काम गरिरहेको प्रमुख ढकाले बताउनुभयो । उहाँले कार्यक्रममार्फत आगामी कार्यदिशा, उद्योग क्षेत्रको समसाहिक विषयलगायतको विषयमासमेत प्रष्ट पार्नुभयो ।
जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङको अध्यक्षतामा भएको कार्यक्रममा भोजपुर नगरपालिका मेयर कैलास कुमार आले, प्रमुख जिल्लाका अधिकारी नरबहादुर थापा, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिमिल्सिना, सशस्त्र प्रहरी टक्सार गुल्मका प्रमुख देवेन्द्र थापा, राष्ट्रिय अनुसन्धानका प्रमख रामअचल शाह, जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष कर्ण मोक्तान, भोजपुर नगरपालिका १२ वडाध्यक्ष देवीप्रसाद कार्की, वडा ५ का वडाध्यक्ष फविन्द्र प्रधान, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उद्योगी व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।