बाढीले सडक बगाउँदा साल्पासिलिछोको जनजीवन कष्टकर


भोजपुर, २७ साउन ।
इर्खुवा खोलामा आएको बाढीले सडक बगाउँदा भोजपुरको साल्पासिलिछो गाउँपालिकाको जनजीवन कष्टकर बनेको छ । गत साउन १६ गते आएकोे बढीले गोथेबजारदेखी नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक बगाउँदा यहाँको जनजीवन कष्टकर बनेको हो ।
बाढीले सडकसँगै विभिन्न संरचनामा क्षति पु¥याउँदा गाउँपालिकाबासीको जनजीवन प्रभावित बनेको प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिनभयो । बाढीले अन्य भौतिक संरचनासँगै सडक, पुलमा क्षति पुगेपछि आवत जावतमा समस्या रहेको उहाँको भनाइ छ ।
“केहि समय अघि आएको बाढीको कारण यहाँका धेरै संरचनामा क्षति पुगेको अवस्था छ”प्रशासकीय अधिकृत काफ्लेले भन्नुभयो, “मुख्य रुपमा सडक, पुलमा क्षति पुग्दा यहाँका जनजीवन कष्टकर बनेको छ । बाढीले सडक बगाउँदा आवतजावतसँगै खाद्यन्न ढुवानीमा समस्या छ ।”
बढीले गोथेबजारदेखी नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक सडक बगाउँदा रु. पाँच करोड बरावरको क्षति पुगेको प्रशासकीय अधिकृत काफ्लेले जानकारी दिनुभयो । यो क्षेत्रमा पुनः नयाँ सडक विस्तार गर्नु पर्ने अवस्था रहेको उहाँको भनाइ छ ।

बाढी प्रभावित क्षेत्रका नागरिकलाई गाउँपालिका केन्द्र चौकी डाँडासँगै भोजपुर सदरमुकाम तथा बाह्य जिल्ला आवत जावत गर्ने मुख्य तीन वटै सडकको सवै नाका बन्द रहेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताउनुभयो । गाउँपालिकाको बजेटमा यहाँ क्षति पुगेका संरचनाको पुनः निर्माण गर्न सम्भव नरहेको अध्यक्ष कुलुङले बताउनुभयो । धेरै क्षति पुगेका मुख्य मुख्य संरचनाहरुको मर्मत तथा पुनः निर्माणको लागि अनुमानित रु. दश करोड बढी बजेटको आवश्यकता रहेको अध्यक्ष कुलुङको भनाइ छ ।
“इर्खुवा खोलामा आएको बाढीले यहाँका धेरै संरचनामा ठूलो क्षति पुगेको छ”अध्यक्ष कुलुङले भन्नुभयो,“क्षतिग्रस्थ संरचनाको तत्कालिन रुपमा पुनः निर्माणको लागि रु. दश करोड खर्च हुने देखिएको छ । कार्यापालिकाको बैठक बसेर मुख्य मुख्य संरचनाहरुको पुनः निर्माणको लागि केन्द्र र प्रदेश सरकारसँग बजेट माग गर्ने निर्णय गरेर बजेटको लागि आवश्यक पहल गरिरहेका छौँ ।”
गाउँपालिकाले सडक सचारु गरेर स्थानीयको जनजीवन सहज बनाउन आवश्यक कामसँगै पहल गरिरहेको उहाँको भनाइ छ । धेरै स्थानका सडकमा क्षति पुगेकोले सबै सडकलाई एक साथ सञ्चालनमा ल्याउन भने समस्या रहेको उहाँको भनाइ छ ।


बढीले वडा नं १ मा रहेको गौडेनी पुलमा रु.एक करोड ५० लाख, वडा नं ३ मा पर्ने इर्खुवा खोला लघु जल विद्युत आयोजनामा रु एक करोड, वडा नं ५ र ६ को दोभाने फेदी सडकमा रु.एक करोड र भमला ढाँडगाउँ पुलमा रु.१० लाख बरावरको क्षति भएको गाउँपालिकाले जनाएको छ । त्यस्तै वडा नं ४ मा निर्माणधिन याक्सा नागदह मोटरेवल पक्की पुलमा रु. ४० लाख बढीको क्षति पुगेको गाउँपालिकाले जनाएको छ । बाढीले यहाँको इर्खुवा खोला हाइड्रोपावरमा पूर्ण रुपमा क्षति पुगेको छ ।
बाढी कारण वडा नं ६ मा सवै भन्दा बढी परिवार विस्तापित भएका छन् । यहाँका विस्तापित परिवारको तथ्याङक संकलनको काम भईरहेको जनाइएको छ । हालसम्म वडा नं ४ मा छ घर परिवार, वडा न ३ र ५ मा एक/एक परिवार विस्तापित भएको तथ्याङक आइसकेको गाउँपालिकाले जानकारी दिएको छ ।
बाढीका कारण क्षति पुगेका संरचनाको पुनः निर्माण तथा मर्मत गरेर चाडो सञ्चालनमा ल्याउन राज्यले ध्यान दिनुपर्ने स्थानीयबासी गजेन्द्र राईले बताउनुभयो । बाढीले सडक अवरोध हुँदा ग्रामिण भेगको जनजीवन दिनानुदिन कष्टकर बन्दै गएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार